रेशम चौधरीलाई जन्म कैद

टीकापुर हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद रेशमलाल चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला भएको छ । केहीबेर अघि जिल्ला अदालतले यस्तो फैसला सुनाएको हो । घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ । लक्ष्मण चौधरी लाहुराम चौधरी लगायतलाई तीन वर्ष कैदको फैसला सुनाइएको हो । तर उनीहरुले कैद भुक्तान गरिसकेकोले आजै रिहा गर्न आदेश भएको हो । अदालतले पक्राउ परेका तीनजना निर्दाेश रहेको ठहर गरेको छ ।

के हो टीकापुर काण्ड? -सुदूरपश्चिमका ९ जिल्लाकै एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलन उत्कर्षमा थियो । यस्तै सुदूरपश्चिमकाे तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेशको माग गरि थारु समुदाय आन्दोलित थिए । २०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट थारुवान प्रदेशको वोर्ड झुण्ड्याउने थारु आन्दोलनकारीहरुको तयारी थियो । हजारौँको संख्यामा आन्दोलनकारी टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने सुरक्षा कमाण्ड सम्हाल्न आफै टीकापुर पुगेका थिए ।

आन्दोलनकारीहरुको भीड ठूलो थियो । प्रहरीले त्यसलाई रोक्न सकेन । एक्कासी दंगा फैलियो । आन्दोलनकारीको भीडबाट प्रहरीमाथि भाला, तरबार लगायत हात हतियारले आक्रमण भयो । प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको निर्मम हत्या भयो । एसएसपी न्यौपानेसहित प्रहरीको निर्मम हत्या भएको उक्त घटनाको मुख्य योजनाकार रहेको आरोप लागेका रेशम चौधरी अहिले पुर्पक्षका लागि थुनामा छन् । घटना लगत्तै फरार रहेका उनी फरार रहेकै अवस्थामा टीकापुरबाटै प्रतिनिधिसभामा २० हजार ९ सय ३५ मतको फराकिलो अन्तरले विजयी भएका थिए । रेशमले चुनाव जितेको केही समयपछि कैलाली जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए । उनलाई केही हप्ताअघि मात्रै सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सदस्यको शपथ खुवाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *