राष्ट्रिय खेलकुदको बिजोग

खेलस्थलमा रातारात हालिएका छाना हावाहुरीले उडाएको छ । व्यवस्थापन भद्रगोल हुँदा दुई दिनअघि जितेका खेलाडीले समेत घाँटीमा पदक झुन्ड्याउन पाएका छैनन् । राम्रै खाजा खाने हो भने खेलाडीले ७ किमि टाढाको बजार धाउनुपर्ने स्थिति छ । उनीहरुले चाहेअनुसार समय ‘म्यानेज’ गर्न पाइरहेका छैनन्, २० किमि टाढाबाट बिहानै एकै सिफ्टमा ल्याइन्छ र साँझ एकैपल्ट लगिन्छ । पदाधिकारी र निर्णायकसमेत गुनासो गरिरहेका भेटिन्छन्, ‘पानी पनि खान पाइएन ।’ एथलेटिक्समा प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी शुक्रबार भोक सहन नसकेपछि साँधेको चाउचाउ खाँदै । तुलसीपुरस्थित बेलझुन्डीमा अन्तर्राष्ट्रियस्तरको एथलेटिक्स ट्र्याक त बनेको छ । नजिकै बस्ती र पसल नहुँदा खेलाडीले भोकसमेत मेट्न पाएका छैनन् । होटलमा सबेरै ब्रेकफास्ट गरेर आएका खेलाडी शुक्रबार अपराह्न दौडपछि खाजा खोज्न भौंतारिँदै थिए । कतै भेटेनन् । गेट नजिकैको सानो चिया पसलमा चाउचाउ साँध्न लगाए । प्रदेश १ को प्रतिनिधित्व गरेका सम्पाल्मु शेर्पा, दिर्पा बस्नेत र अजिता गिरी एउटै थालमा साँधेको चाउचाउ खान व्यस्त थिए । उनीहरू फरक–फरक जिल्लाबाट आएका हुन् । खेलकुदमै हिँड्दाहिँड्दै पछिल्लो समय मिल्ने साथी भएका छन् । त्यसैले उनीहरू एउटै थालमा दिल खोलेर खाँदै थिए ।

‘दौडिने खेलाडीले यसरी जथाभावी खान हुन्छ त ?’ एउटीले जवाफ फर्काइन्, ‘भोकले मर्न लागिसकियो । के खानु त अरू ? गुरुहरूले त जथाभावी नखानु भनेको छ नि । भोक लाग्यो क्यारे, खाइयो ।’ उनीहरू जस्तै थुप्रै खेलाडी चिया, खाजा खोज्न भौंतारिइरहेका थिए । प्रतियोगितामा अलिकति अनुभव बोकेका खेलाडीले भने आफ्नो व्यवस्थापन आफैंले गरिरहेका छन् । उनीहरूले हल्का किसिमका डाइट केरा, स्याउजस्ता फलफूल आफैंले लगेर खाएका पनि छन् । धेरैको हकमा त्यस्तो छैन । पदाधिकारी र खेलाडीले पानीसमेत खान नपाइएको बताइरहेका थिए । खेलाडीहरू रंगशालाबाट ७ किमि दूरीमा रहेको तुलसीपुर र झन्डै २० किमि टाढा घोराहीमा बसेका छन् । खेलाडीलाई बिहान ल्याउने र खेल सबै सकिएपछि एकै सिफ्टमा लैजाने गर्नाले पनि उनीहरू खानाको मारमा परेका छन् । ७ बजे खेल सुरु हुने रिपोर्टिङ टाइमले गर्दा बिहानै आउनुपर्ने हुन्छ । एथलेटिक्स प्रशिक्षक धनीराम चौधरीका अनुसार खेलाडी आफ्नो समयअनुसार चल्न पाइरहेका छैनन् । आफ्नो खेल सकियो भने पनि जान सक्दैनन् । एकै सिफ्टमा जाने–आउने व्यवस्था छ । त्यसले गर्दा उनीहरूले बिहान खाएको सामान्य ब्रेकफास्टका भरमा १०–११ बजेसम्म खेल्नु परिरहेको छ । वरिपरि किनेर खाने ठाउँ नपाएको गुनासो खेलाडीले गरिरहेको उनले सुनाए ।

रंगशालाको ट्र्याक अन्तर्राष्ट्रियस्तरको छ । सुविधाको नाममा भने केही छैन । खेलाडीले जुन प्रदर्शन दिनुपर्ने हो, भोकका कारण त्यो दिन नसक्ने उनले बताए । ‘केही खाएर वार्मअप गरेर खेल्नुपर्ने हुन्छ । अहिले त्यो अवस्था छैन । बिहानैको खाजाका भरमा खेल्न खेलाडीलाई गाह्रो हुन्छ । त्यसमाथि गर्मी छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुद कार्यक्रमबारे धेरैलाई थाहै छैन भन्छन् । थाहा पाएको भए ठेलागाडाले भए पनि पसल राख्थे होलान् । राष्ट्रिय खेलकुदजस्तो प्रतियोगिता भएको ठाउँमा धेरथोर त जानकारी हुनुपर्ने हो । मलाई पनि अचम्म लाग्यो ।’ रंगशालानजिकै बजार रहेको बस्ती छैन । ठूलो बजार तुलसीपुर पुग्न ७ किलोमिटर टाढा जानुपर्छ । घोराही जान त्योभन्दा झन्डै तेब्बर दूरी नाप्नुपर्ने हुन्छ । टिमहरू आफैंले व्यवस्थापन गरेर ल्याएमात्र हो, नभए खेलाडीले किनेर ब्यालेन्स डाइट खान्छु भन्नु त स्वर्गको फल आँखा तरी मर भनेजस्तै छ । यति ठूलो खेलकुद महोत्सव हुँदै छ भन्ने सहरका जानेबुझेकालाई पनि थाहा छैन । कक्षा १० मा अध्ययनरत आयुष रेग्मी भन्छन्, ‘यहाँ राष्ट्रिय खेलकुद भएको छ र ? खोइ मलाई त थाहै छैन ।’ यता रातारात छानो हालिएको तुलसीपुरमै रहेको कराँतेको हलमा शुक्रबार दिउँसो तामझामसाथ भाषण गरेर प्रतियोगिता उद्घाटन गरियो । बेलुकीपख आएको हावाहुरीले अस्तव्यस्त बनाएपछि खेल हुने–नहुने टुंगो लागेको छैन । हलको आधा भागमा मात्र ट्रस हालिएकाले त्यो खुला नै थियो । जसले गर्दा हावाहुरी र पानी आयो भने खेलाउन सक्ने अवस्था हुँदैन । यो समाचार कान्तिपुरमा प्रकासित छ | तस्बिर अनिश रेग्मी/कान्तिपुर

You May Also Like


Leave a Reply

Your email address will not be published. Required fields are marked *