वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा गिरावट

वीरगन्ज, ९ माघ,२०७४: देशकै प्रमुख भन्सार नाका वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा गिरावट आएको छ । क्लिङ्कर आयातमा देखिएको समस्या लगायतका कारणले राजश्व संकलनमा कमी आएको हो ।

चालु आर्थिक वर्षको सुरुवात साउनदेखि पुस मशान्तसम्मको ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले ६० अर्ब ५० करोड २३ लाख ८७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले भन्सार करमार्फत २२ अर्ब ३१ करोड ८० लाख ३३ हजार, मूल्य अभिवृद्धि करमार्फत २२ अर्ब ८७ करोड ९१ लाख ४१ हजार, अन्त शुल्क मार्फत ११ अर्ब ५८ करोड ४२ ४६ हजार, पूर्वाधार कर २ अर्ब ५९ करोड ८२ लाख ८८ हजार र अन्य शिर्षकमा १ अर्ब १२ करोड २६ लाख ७५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई पुस महिनासम्मका लागि ६२ अर्ब १२ करोड ५ लाख १६ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो ।

जाडो अत्यधिक हुने महिनामा व्यापार व्यवसाय नै घट्ने हुनाले कारोबारमा कमी आएको भन्सार कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत सन्तोष यादवले बताए । ‘पुस र माघमा अत्याधिक चिसो हुने हुँदा कारोबार नै कम हुन्छ, अन्य महिनाको तुलनामा कम नै राजश्व संकलन हुने गरेको छ ।’ उनले भने ‘त्यसमाथि यो महिनामा क्लिंकर आयात हुन सकेन, त्यसले पनि लक्ष्य भेट्टाउन सकिएन ।’

पुस महिनामा लक्ष्य भन्दा १३ प्रतिशत कम

चालु आर्थिक वर्षको पुस महिनामा कार्यालयले १० अर्ब ७५ करोड १३ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर भारत तथा तेस्रो मुलुकमा भएको आयातबाट ९ अर्ब ४० करोड ३८ लाख ४५ हजार रुपैयाँ मात्रै राजश्व संकलन गरेको छ ।

पुसमा भन्सार शुल्क मार्फत ३ अर्ब ५७ करोड ७६ लाख २६ हजार, मुल्य अभिवृद्धि कर मार्फत ३ अर्ब ९३ करोड १९ लाख ६६ हजार, अन्तःशुल्क मार्फत १ अर्ब २४ करोड ४२ लाख ४६ हजार, पूर्वाधार करमार्फत ४५ करोड ७१ लाख ९ हजार र अन्य शीर्षकमा १९ करोड २८ लाख ९८ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अनलाइन खबर 


Leave a Reply

Your email address will not be published. Required fields are marked *