बम विष्फोट गराएको आशंकामा ८ जना पक्राउ

मोरङ-विराटनगर महानगरपालिकामा प्रेसर कुकर बम विष्फोटको शंका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

आइतबार महानगरपालिका प्रमुख भीम पराजुलीको कार्य कक्ष नजिकै करीब २ बजे सो विष्फोट भएको हो। विष्फोट लगत्तै प्रहरीले सुरक्षाकार्यमा कडाई अपनाएको छ।

घटनाबारे मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले बम विष्फोटको जिम्मा कसैले पनि नलिएको र मिहिन ढंगबाट घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए। एसपी केसीले घटनामा जोडिएको आशंकामा ८ जना व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान र सोधपुछ गर्ने काम भइरहेका बताए।

हाल उनीहरुको नाम र ठेगाना भने गोप्य राखिएको उल्लेख गरे।पक्राउ परेकाहरुको राजनैतिक आवद्धता र विगतका पृष्ठभूमिका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। प्रहरीले हाल सिसी टिभी फुटेज हेरेर पनि घटनाका बारेमा पत्ता लगाउने प्रयास गरिरहेको उनको भनाइ छ।

यसअघि, दिउसो महानगरपालिका कार्यालयको पहिलो तालाको प्यासेजमा विष्फोट भएको हो।मेयर भीम पराजुली र प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहालको कार्य कक्षको बीचमा रहेको प्यासेजमा विष्फोट भएको हो।

विष्फोटबाट नगरपालिकाको झ्यालका सीसा फुटेका छन्। विष्फोटसँगै मेयर पराजुलीले प्रयोग गर्दै आएको को.१.झ ४९४ नम्बरको गाडीमा क्षति पुगेको छ।

विष्फोटपछि धुवाँको मुस्लो छुट्दा कार्यालयका कर्मचारी र सेवाग्राहीबीच भागदौड मच्चिएको थियो। विष्फोटको आवाजले कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बेहोस भएको प्रहरीले जनाएको छ। ठाकुरको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचार भएको छ।

यसबिच, मेयर पराजुलीले महानगरपालिका जनताको कार्यालय भएका कारण बम विष्फोट हुने कुरामा कुनै आशंका गर्न नसकिएको बताए। उनले भने, ‘जसले घटना गराए पनि निन्दनिय र खेदजनक छ ।’ प्रहरीले महानगरपालिका कार्यालयमा सिल गरेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ।

घटनास्थलमा प्रहरीका तालिम प्राप्त कुकुर सहितको अपराध अनुसन्धानमा विशेष दखल राख्ने प्रहरी टोली परिचालन गरेर घटनाको अनुसन्धान सुरु गरिएको बताइएको छ । सशस्त्र र नेपाली सेनाको टोली पनि परिचालित छ।

विष्फोटपछि जिल्ला सुरक्षा समिति मोरङको बैठक बसेर विराटनगरको सुरक्षा व्यवस्था कडा पार्ने निर्णय पनि गरेको छ। महानगरपालिकाका एक कर्मचारीका अनुसार केही दिन अघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीले पत्र पठाएरै चन्दा माग गरेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *