संविधान संशोधनमा कति प्रगति भयो ? प्रधानमन्त्रीलाई राजपाको प्रश्न

0 Shares

काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग संविधान संशोधनका लागि भएको प्रगति मागेका् छ । आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजपाका शीर्ष नेताहरुले संविधान संशोधनका विषयमा भएको प्रगति मागेका हुन् ।

राजपा अध्यक्ष मण्डलका सदस्य महिन्द्रराय यादवले आफूहरुसँग प्रधानमन्त्रीले गरेको प्रतिबद्धताअनुसार काम कति भयो भनेर जिज्ञासा राखेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री ओलीले आफूले छलफल गरिरहेको र छिट्टै संशोधन प्रस्ताव तयार हुने जवाफ दिएको यादवले देश सञ्चारसँग बताए ।

भेटपछि यादवले भने, ‘हामीले संविधान संशोधनमा भएको प्रगति माग्यौं । उहाँले छलफल गरिरहेको छु, छिट्टै संशोधन प्रस्ताव तयार हुन्छ भन्नुभयो ।’ राजपाका नेताहरुले मंगलबार नै प्रधानमन्त्रीलाई भेट्न समय मागे पनि पाँच दिनपछि प्रधानमन्त्री ओलीलाई आइतबार बेलुका भेटेका हुन् ।

बेलुका साढे ६ बालुवाटार पुगेका राजपाका नेताहरुले झण्डै दुई घण्टा ओलीसँग कुराकानी गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि फागुन २१ गते राजपाले संसदमा विश्वासको मत दिएको थियो । सरकार गठन भएको पाँच महिनासम्म पनि सरकारले संशोधन प्रस्ताव नल्याएछि साउन ३ गते राजपाले प्रधानमन्त्री ओलीलाई प्रतिबद्धता सम्झाउँदै ज्ञापनपत्र बुझाएको थियो ।

ज्ञापन पत्रमा राजपाले जेलमा रहेका प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशम चौधरी ३४ जनाविरुद्ध लागेको मुद्दा फिर्ता गरेर रिहाइ गर्नुपर्ने माग गरेको थियो । मुद्दा फिर्ता लिने विषयमा पनि प्रधानमन्त्रीले सकारात्मक जवाफ दिएको राजपाका प्रवक्ता केशव झाले जानकारी दिए ।

ओलीले मुद्दालाई राजनीतिक र गैरराजनीतिक रुपमा छुट्याएर त्यसैअनुसार प्रक्रिया अघि बढाउने बताएको झाले जानकारी दिए । भेटमा प्रधानमन्त्री ओलीले राजपालाई सरकारमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।

जवाफमा आफूहरुले उठाएको मुद्दा सम्बोधनपछि विचार गर्ने जवाफ दिएको यादवले जानकारी दिए

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *