त्रि. वि सेवा आयोगको परीक्षा नतिजा खारेजीको मागसहित सर्वोच्च पुगे परीक्षार्थी
![त्रि. वि सेवा आयोगको परीक्षा नतिजा खारेजीको मागसहित सर्वोच्च पुगे परीक्षार्थी](https://www.sadakmedia.com/wp-content/uploads/2020/12/tu-service-commission-.jpg)
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न अध्ययन संस्थान र संकायका लागि लिएको उपप्राध्यापक पदको परीक्षा नतिजाप्रति असन्तुष्ट २६ जना उम्मेदवार अदालत पुगेका छन । उत्प्रेषणको आदेशबाट गत २६ कात्तिकमा आयोगले प्रकाशन गरेको नतिजा खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन् ।
समस्या समाधानका लागि आयोगलाई पटक–पटक गरिएको आग्रहको सुनुवाइ नभएकाले अदालतमा जानुपरेको परीक्षार्थीले जनाएका छन् । आयोगको गत २६ कात्तिकको सूचनामा चिकित्साशास्त्र, इञ्जिनीयरिङ, कृषि तथा पशु विज्ञान, विज्ञान तथा प्रविधि, अध्ययन संस्थान, मानविकी तथा सामाजिक शास्त्र, शिक्षाशास्त्र, व्यवस्थापन सङ्कायका २४० परीक्षार्थीको परीक्षा आयोगको निर्णयानुसार रद्द गरिएको जनाइएको थियो ।
आयोगले २८ कात्तिक २०७६ देखि २ पुस २०७६ सम्म सञ्चालित विभिन्न अध्ययन संस्थान र संकायका उम्मेदवारको परीक्षामा मर्यादाविपरीत तथा नियमित कार्य नभएको जनाउँदै उत्तरपुस्तिका र परीक्षा रद्द गरेको थियो । उत्तरपुस्तिकालाई विधिविज्ञान प्रयोगशालामा परीक्षण गराई प्राप्त अंकका आधारमा नतिजा प्रकाशन गरी पदपूर्तिको प्रक्रिया अघि बढाउन मागसहित यही १४ मंसिरमा रिट निवेदन दायर गरिएकोमा अदालतले विश्वविद्यालयका पदाधिकारीलाई बोलाएर सुनुवाइको मिति तय गर्न बाँकी छ ।
समाजशास्त्र विषयमा नेपाल विद्याभूषण प्राप्त उम्मेदवार अञ्चला चौधरीले आयोगले गर्दै नगरेको गल्ती देखाइ आफूहरूको परीक्षा रद्द गर्ने सूचना प्रकाशन गर्नु न्यायोचित नभएको बताइन् । आफ्नो समूहका सर्वोत्कृष्ट विद्यार्थीसमेत र लामो समय अध्यापनरतका लिखित परीक्षा रद्द गरी आयोगले अन्याय गरेकाले अयोग्य भनिएका र सफल उम्मेदवारबीचको प्राप्तांकको फरक विवरण पाउन माग गरिएको परीक्षार्थी कपिल खनालले बताए ।
आफ्नो समूहमा ‘इएनटी’ विषयमा सर्वोत्कृष्ट डा कृपा डंगोलले नभएको गल्ती देखाएर सफल हुने सम्भावित उम्मेदवारलाई पाखा लगाउने कोशिश भएको आरोप लगाइन् भने वायोकेमेस्ट्रिमा सर्वोत्कृष्ट रञ्जीत ठाकुरले धेरै राम्रो भएको विषयको जाँचको उत्तरपुस्तिका रद्द गरिएकोले यो कार्य उपयुक्त नभएको प्रतिक्रिया दिए ।