एपीएफलाई हराउदै आर्मी बन्याे ‘पीएम कप’को विजेता
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो पटक प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधि चौथो संस्करणको प्रधानमन्त्री कपको उपाधि जितेको छ ।
शनिबार भएकाे फाइनल खेलमा अर्काे विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३३ रनले हराउँदै आर्मीले चौथो संस्करणको पीएम कपको उपाधिसँगै १० लाख जितेको छ । उपविजेता एपीएफले पाँच लाखमा चित्त बुझाएको छ ।
आर्मीले दिएको २ सय १२ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको एपीएफले ४३.३ ओभरमा सबै विकेट गुमाएर १ सय ७८ रन मात्र बनाउन सक्यो ।उसका लागि आशिफ शेखले ६१, सन्दीप जोराले २९, सुमित महर्जनले १९, शंकर रानाले २१ र सुवास खकुरेलले १४ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा बिक्रम सोब, जितेन्द्र मुखिया, साहब आलमले तीन/तीन र सुशान भारीले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ११ रन बनायो । उसका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए भने राजेश पुलामीले २८, लोकेश बमले १५, सुशान भारी, रोहित पौडेलले १३/१३ साहब आलमले अविजित २५ र बिक्रम सोबले ११ रनको योगदान दिए । एपीएफका लागि शानदार बलिङ गरेका अभिनाशले ४ विकेट लिए भने किशोर महतोले दुई, भुवन कार्की, कप्तान शरद भेषवकार र कमलसिंह ऐरीले एक/एक विकेट हात पारे ।