भारतसँग रेल चालक माग्दै नेपाल
काठमाडौँ : सरकारले कुर्था–जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरूपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ ।
भारतीय कोनकोन कम्पनीबाट केही समयमा नै संरचना जिम्मा लिइने कम्पनीले जनाएको छ । भारत सरकारले नेपाल सरकारलाई केही समयपछि औपचारिकरूपमा संरचना हस्तान्तरण गर्ने भए पनि अहिले सञ्चालनका लागि जिम्मेवारी लिन लागिएको कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए ।
कम्पनीसँगको समन्वयमा प्राविधिक कर्मचारी २६ जना ल्याउन लागिएको छ । उनले भने, ‘त्यसमा रेल चालक, स्टेसन मास्टर, पावर म्यानेजर, सिनियर ट्राफिक म्यानेजरलगायत रहनेछन् ।’
भारतसँगको सम्झौताको विषय सोमवारको मन्त्रिपरिषद्को बैठकमा छलफल हुने बताइएको छ । सोमवार नै प्रमाणित सञ्चालन कार्यप्रणाली (स्टाण्डर्ड ओपरेटिङ प्रोसिडर) पनि बैठकमा छलफल हुनेछ । भारतसँग उताबाट ल्याइने जनशक्ति र आवश्यक सामग्री ल्याउने विषयमा समेत छलफल हुने उनले बताए ।
कम्पनीसँग खरीद गर्ने सामग्री र जनशक्तिका विषयमा कुराकानी भइसकेको छ । उताबाट टोलीले स्थलगत भ्रमणसमेत गरेको थियो । उनले भने, ‘यताबाट पत्र दिनासाथ उताको टोली तयारी अवस्थामा छ ।’
नेपाली कर्मचारी र अरु प्राविधिक तयारी अवस्थामा रहेको महानिर्देशक भट्टराईले बताए । रेल र कम्पनीका सामग्री सुरक्षाका लागि सशस्त्र प्रहरी बस्ने तयारी छ । उनले भने, ‘प्रशासनसँग कुराकानी भइसकेको छ ।’
रेल नियमित सञ्चालनका लागि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा उद्घाटन गर्ने गरी छलफल भइरहेको कम्पनीले जनाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुने कुरा नेपालस्थित भारतीय दूतावासले बताएको छ ।
उनी भौतिकरुपमा वा भर्चुअल उपस्थित हुने भन्ने टुंगो नभएको भट्टराईले बताए । उनले भने, ‘दुवै देशका प्रधानमन्त्रीको समय मिलेपछि मात्रै उद्घाटनको मिति तय हुनेछ ।’
भाडादर र टिकटका विषयमा यसअघि नै टुंगो लागिसकेको महाप्रबन्धक भट्टराईले बताए । कम्प्युटर खरीद सकेर उता लगेर राख्न तयारी अवस्थामा छ । भाडादरका विषयमा कम्पनीले मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । बस लगायतका अरु सवारीसाधनको भाडादरमा चलाउन तयारी गरिएको उनले बताए ।
सामान्य सिटमा ३५ किमी रेलमार्ग यात्रा गर्न ७५ रुपैयाँ भाडादर तोकिएको छ । उनले भने, ‘डिलक्सको भाडा सामान्यभन्दा ४–५ गुणा बढी हुनेछ ।’
सेवा शुरू गर्न सोमवारको मन्त्रिपरिषद्को बैठकले सहज बनाइदिने अपेक्षा गरिएको छ । कम्पनीले अहिले नेपाली कामदारलाई १ हप्ताको तालिम दिइने महाप्रबन्धक भट्टराईले बताए । उनका अनुसार रेलको महत्त्व बुझाएर कुन–कुन सामग्रीको सुरक्षा आवश्यक छ भनी बुझाउनुपर्छ । अहिले कामदार छनोटमा पहिले काम गरेकालाई प्राथमिकता दिइएको छ ।
तत्काल काम शुरू गर्न ती व्यक्तिलाई तयारी अवस्थामा राखिएको उनले बताए । उनले भने, ‘अबको २ देखि ३ हप्ताभित्र नियमित सञ्चालनको काम सकिन्छ ।’
रेल सञ्चालनपछि त्यस क्षेत्रका जनता र व्यापारीलाई यातायातमा सहज हुने अपेक्षा गरिएको छ । अहिले पनि सवारीसाधन सञ्चालन भइरहेकामा रेलले यातायातमा अझै सुविधा दिनेछ। उक्त रेलमार्ग बर्दिवाससम्म पुग्ने र पूर्वपश्चिम रेलमार्ग पनि बर्दिवास जाने भएकाले त्यहाँ पुगेर जोड्ने योजना सरकारले लिएको छ ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते २ सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा १ हजार २०० देखि १ हजार ३०० जनासम्म यात्रु बसेर र उभिएर गरी यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ। यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिने छ।
नेपालमा राणाकालमा विक्रम संवत् १९८४ सालतिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विक्रम संवत् १९९४ सालतिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षासँगै अघि बढेको हो । अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो ।
कूल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । विजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ । – रासस