प्रचण्ड–नेपाल समूह नयाँ रणनीति बनाउँदै
सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड–माधव समूहले नया रणनीति बनाउने भएको छ ।
यसअघि तय गरिएका विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गर्ने र आजैबाट अरु दलसँग छलफल सुरु गर्ने तयारी छ । तयारीका लागि आज प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । बुधबार अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । प्रचण्ड–माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसैबीच, संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड–माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।