कर्णाली करिडोर हुम्ला खण्डका लागी नेपाली सेनाले निर्माण सामाग्री ढुवानी
कर्णाली करिडोरको हुम्ला खण्ड अन्र्तगत दुल्लीकुना देखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामाग्री ढुवानी सुरु गरेको छ । नेपाल सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनाको बिकास निर्माण दललाई दिए अनुसार सेनाले निर्माण कार्य सुरु गर्न सामाग्री हेलिकोप्टरबाट ढुवानी सुरु गरेको हो ।
सडक निर्माणमा खटिएका सहसेनानी डिल्लीराम साप्कोटाले नेपाली सेनाले आफ्नो जिम्माको काम सुरु गर्न निर्माण सामाग्री हेलिकोप्टरबाट ढुवानी सुरु भएको जानकारी दिएका छन् । यसअघि सेनाको एक टोली सडक निर्माण खण्डको सुनाखाडामा आएर बसेको थियो । सेनाको बिकास निर्माण दलको टिम आएर सडक निर्माणस्थलमा पुगेपछि निर्माण सामाग्री ढुवानी सुरु भएको हो ।
पाँच दिन लगातार सेनाको एमआई सेभेन्टिन हेलिकोप्टरले सामाग्री ढुवानी गरेको हो । निर्माण स्थलमा आई पुगेका सामाग्रीहरुमा बिष्फोटक पदार्थदेखि, निर्माण सामाग्री, औजार लगाएतका रहेका छन् । उनले अधिकाँस सामाग्री निर्माण स्थलमा आई पुगेको र अब स्काभेटर आउन बाँकी रहेको र त्यो पनि केही दिनमा आई पुग्ने बताएका छन् । उक्त सामाग्री हेलिकोप्टरले सर्केगार्ड गाउँपालिका–१ को खच्चबाट ढुवानी गरेको हो । सेना यसअघि करिडोरको हुम्ला खण्डकै कवाडी सलीसल्ला क्षेत्रको ३९ किलो मिटर सडक निर्माण गर्न सो स्थानमा
बसेको थियो ।
हाल लालीबगरमा ३५ जना नेपाली सेनाको टिम रहेको छ । जसले बासस्थल निर्माण गर्ने कार्यले सडक निर्माण स्थलको चट्टानी भागमा होल खोप्ने कार्य गरि रहेको सेनाले जनाएको छ । अब सेनाले चाँडै बिष्फोट गर्ने कार्य सुरु हुने जनाएको छ । सेनाले दुल्ली कुनादेखि लालीबगरसम्मको सात किलो मिटर चट्टानी क्षेत्रको निर्माण कार्य गर्नेछ ।www.mansarowartimes.com बाट साभार