बेतन कर्णाली जलविद्युत् आयोजनाको ईआईए अन्तिम चरणमा

बेतन कर्णाली जलविद्युत् आयोजनाको ईआईए अन्तिम चरणमा

आयोजना सम्पन्न गर्नका लागि ब्याजबाहेक ७४ अर्ब १५ करोड लाग्ने अनुमान

वीरेन्द्रनगर — बेतन कर्णाली जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को कार्य अन्तिम चरणमा पुगेको छ । कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीका अनुसार पश्चिम सुर्खेत र अछाम जिल्लाको सीमानामा बन्ने अर्धजलाशययुक्त जलविद्युत आयोजनाको ईआईएको ८० प्रतिशत काम सम्पन्न भएको छ ।

ईआईएको जिम्मेवारी परामर्शदाता एनईए इन्जिनियरिङ कम्पनीले पाएको छ । सो कम्पनीका वातावरणविद् सरोज घिमिरेका अनुसार असोज महिनाभित्र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको काम सम्पन्न गरी सम्बन्धित निकायमा रिपोर्ट बुझाउने तयारी छ । आयोजनाको डीपीआरको काम सकिएलगत्तै ईआईएको कामलाई तिव्रता दिइएको हो ।

परियोजनाका अनुसार ८९ मिटर अग्लो आयोजनाका ड्याम (बाँध) सुर्खेतको चौकुने र अछामको ढकारीका वडा नं. ६ अन्तर्गत मालुमेलातर्फ बन्दैछन् । त्यसबाट ८/८ मिटर डायमिटरका तीन वटा सुरुङ बनाइनेछ । यी सुरुङ दुई किलोमिटर लामा हुने छन् । ५ सय ७० मिटरमध्ये हालसम्म ४ सय ९० मिटर लामो टेस्ट टनेल खनिसकिएको वेतन कर्णााली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी परियोजनाका प्रबन्धक उपेन्द्र न्यौपानेले जानकारी दिए ।  पाँच वर्षमा निर्माण कार्य सक्ने लक्ष्य राखिएको यो आयोजना चार सय ३९ मेगाावाट क्षमताको हो । अछाम तर्फको ढुङ्गाचाल्नादेखि आयोजनाको हेडवक्र्स पावर हाउससम्मको १८ किलोमिटर पहुँच मार्ग निर्माणसँगै सुर्खेत तर्फको १४ किलोमिटरमध्ये हालसम्म ७ किलोमिटर बाटो निर्माण भइसकेको प्रबन्धक न्यौपानेले बताए । उनका अनुसार सुर्खेत तर्फको बाँकी ७ किलोमिटर बाटो समेत अबको दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माणस्थलमा क्याम्प हाउस निर्माण सम्पन्न भएसँगै वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनीको शाखा कार्यालय समेत सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

‘अछाम तर्फ जग्गाको मुआब्जा निर्धारणको काम सकिएको छ,’ उनले भने, ‘अब रकम बाँड्ने तयारी गरिएको छ, सुर्खेत तर्फको जग्गाको मुआब्जा निर्धारणका लागि अबको दुई महिना भित्र सरोकारवालासँग बसेर काम टुङग्याउने गरी लागेका छौँ ।’ प्रबन्धक न्यौपानेका अनुसार अछामको ढकारी र तुर्माखाँदका बासिन्दाको जग्गालाई ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ श्रेणीमा वर्गीकरण गरिएको छ । आयोजनाले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका जग्गालाई प्रतिरोपनी ७ लाख ३० हजार ९०४ रुपैयाँको दरले मुआब्जा दिने छ । यसैगरी ‘घ’ र ‘ङ’ श्रेणीका जग्गाधनीले प्रतिरोपनी पाँच लाख ४६ हजार ३ सय ३२ रुपैयाँको दरले मुआब्जा पाउने छन् । अछाम क्षेत्रमा मात्रै १८ सय ४४ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने आयोजनाका प्रबन्धक न्यौपानेको भनाइ छ ।

उनका अनुसार सुर्खेत तर्फको जग्गाको मूल्य निर्धारण कार्य सकिनासाथ अछाम तर्फका लागि समेत मुआब्जा रकम बाँड्न सुरु गरिनेछ । यसका लागि घरधुरी सर्वेक्षण, रुख घर संरचना तथा रुख विरुवाको गणना, आयोजना क्षेत्र भित्रको हावापानी, माटोको गुणस्तर मापन एवम् कर्णाली नदीमा पाइने जलचरहरुको अध्ययन लगायतका कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।आयोजनाले अछामको ढकारी र तुर्माखाँद गाउँपालिका तथा सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाको क्षेत्र ओगट्छ । पूर्वाधार निर्माण गर्ने क्रममा पहुँच मार्ग निर्माण कार्य सकिने वित्तिकै भोक्रे खोला नजिक करिब ७० मिटर लामो बेलिब्रिज बनाइने छ । यसको पावर हाउस अन्डरग्राउन्ड हुनेछ जसमा ६ वटा जेनेरेटर हुने छन् । त्यसबाट ४ सय ३९ मेगावाट बिजुली उत्पादन हुन्छ । ‘गिगावाटको हिसाबमा यो माथिल्लो तामाकोसी भन्दा पनि ठूलो हो,’ प्रवन्धक न्यौपानले भने, ‘यसले प्रतिघण्टा २ हजार ४ सय ६ गिगावाट इनर्जी दिन्छ ।’

यसबाट उत्पादित बिजुली पाँच किलोमिटर लामो प्रसारण लाइन बनाएर सुर्खेतको चौकुनेस्थित बेतन हब सबस्टेसनमा जोडिनेछ । उनका अनुसार सुर्खेत जिल्लाको बेतन गाउँमा सबस्टेसन निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ । त्यहाँबाट ३० किलोमिटर टाढा पर्ने दुदुधाराको पूर्वपश्चिम ट्रान्समिसन लाइन र बोर्डर लाइनमा बिजुली जोडिन्छ । वेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी परियोजनाका प्रबन्धक न्यौपानले वित्तीय व्यवस्थापन अन्तर्गत लगानी सुनिश्चितताका लागि बैंकसँग छलफल र विद्युत खरिदको प्रक्रिया अघि बढाइएको जनाए । विद्युत् खरिद, बिक्री सम्झौता (पीपीए) गर्नका लागि विद्युत् प्राधिकरणसँग पनि प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

विस्तृत इन्जिनियरिङ अध्ययन प्रतिवेदन अनुसार १७२.७५ मिटर लम्बाइ र ९० मिटर उचाइका बाँध (ड्याम) प्रस्ताव गरिएको छ । बाँधमा ६/६ वटा गेट राखिनेछ । बाँधको पानीलाई विद्युत उत्पादन गृहसम्म आठ मिटर व्यासका तीन सुरुङबाट पुर्‍याइनेछ । जसको लम्बाई सरदर दुई हजार १५ मिटर रहनेछ । बाँधदेखि २.०१५ किमी तल भूमिगत पावरहाउस रहनेछ । पावर हाउसमा ७१.६८ मेगावाटका ६ वटा टर्वाइन रहनेछन् । कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिब ६ लाख सञ्चयकर्ताको सञ्चित रकममा कोषबाट प्राप्त हुने प्रतिफललाई जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्न कोषले आयोजना निर्माण गर्न लागेको हो । यसबाट सञ्चयकर्ताको अवकासपछिको जीवनयापनमा सहज हुने कोषको भनाइ छ । आयोजनामा सञ्चयकोषका सञ्चयकर्ताको ४० प्रतिशत, सञ्चय कोषको १५ प्रतिशत, नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनीको १०/१० प्रतिशत लगानी हुनेछ । यसमा सर्वसाधारणको २५ प्रतिशत लगानी हुने छ । आयोजना सम्पन्न गर्नका लागि ब्याजबाहेक ७४ अर्ब १५ करोड लाग्ने र यसबाट वार्षिक रुपमा १४ अर्ब ५० करोड आम्दानी हुने अनुमान छ ।    ekantipur.com बाट 

Leave a Reply