सात वर्षे कार्यकाल बिताएर फर्कन लागेकी राष्ट्रपति भण्डारीको ओली र कमल थापा मात्र प्रशंसक

सात वर्षे कार्यकाल बिताएर फर्कन लागेकी राष्ट्रपति भण्डारीको ओली र कमल थापा मात्र प्रशंसक

काठमाडौं– देशले आज तेस्रो राष्ट्रपति पाउँदैछ । बिहीबार बिहान १० देखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको विजय निश्चित जस्तै छ । औपचारिकताका लागि मात्र निर्वाचन हुँदैछ ।

राष्ट्रपतिमा सात वर्षे कार्यकाल पूरा गरेर घर फर्किन लागेकी विद्यादेवी भण्डारीले प्रशंसकभन्दा पनि बढी आलोचक कमाएकी छन् । एमाले उपाध्यक्ष हुँदै राष्ट्रपति बनेकी भण्डारी सम्पूर्ण नेपालीको होइन, एमालेमै पनि सर्वस्वीकार्य भइनन् । विवादै विवादमा परेर भण्डारीले आफ्नो कार्यकाल पूरा गरेकी छन् । घर फर्कंदै गर्दा भण्डारीले प्रशंसकमा एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापा मात्र पाएकी छन् । एमाले अध्यक्ष ओली र थापाले भने राष्ट्रपति भण्डारीको कार्यकाल सफल भएको टिप्पणी गरेका छन् ।

ओलीले महिला आन्दोलनबाट हुर्किएर गएको व्यक्तिले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको नेतृत्व दिनु गर्वको विषय भएको बताएका छन् । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार अखिल नेपाल महिला संघले गरेको कार्यक्रममा ओलीले भण्डारीले सात वर्षसम्म राष्ट्रपतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको भन्दै प्रशंसा गरे । ‘तपाईंहरूको आन्दोलनबाट हुर्किएर गएको व्यक्ति विद्या भण्डारीले देशलाई सात वर्षसम्म राष्ट्रप्रमुखको हैसियतमा सफलतापूर्वक नेतृत्व गर्नुभयो । यसमा हामीले गौरव गर्नुपर्छ,’ उनले भने ।

भण्डारीले प्रथम महिला राष्ट्रपतिका रूपमा गौरवपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । ओली प्रधानमन्त्री हुँदा भण्डारीले सरकारले लगेका अध्यादेश तत्काल जारी गर्ने मात्र होइन, दुई दुईपटक प्रतिनिधिसभा विघटन गर्दा पनि कतै परामर्श नलिई तुरुन्तै सदर गरेकी थिइन् । जसले गर्दा भण्डारी विवादमा परेकी थिइन् । भण्डारीलाई ओलीको आदेश मात्र मान्ने भन्दै एमालेमै विरोध भएको थियो । नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपालगायतका दल भण्डारीको भूमिकाबाट सन्तुष्ट छैनन् । सोही कारण यसपटक एमालेका उम्मेदवारलाई कसैले पनि सहयोग नगरेका हुन् ।

कमल थापाले भने आधा सजाय माफ गरेका कैदीबन्दीलाई आममाफी दिने सरकारको अध्यादेश राष्ट्रपति भण्डारीले रोकेर धेरै राष्ट्रवादी काम गरेको भन्दै सात वर्षे कार्यकाल सफल भएको टिप्पणी गरेका छन् ।

Leave a Reply