कहाँ होलिन् ती राईझुमा ?
उहिले अछाम लगायत पश्चिम नेपालको सेरोफेरो लाई देश विदेश सम्म चिनाउने काम राईझुमाले पनि गरेकी हुन । यो ठाउँ लाई जति परिचीत गराईन उनको चर्चा अनि लोकप्रियता पनि उत्तिकै चुलियो । त्यसैले पनि होला कर्णाली र सुदुर पश्चिम प्रदेश (साविकको मध्यपश्चिम र सुदूरपश्चिम ) पुग्ने जोकोहीले राईझुमा लाई याद गर्छन । अनि सबैको चासो र चिन्ता अछामकी चेली राइझुमा तर्फ केन्द्रित हुन्छ । उहिले मात्रै कहाँ हो र ! अहिले पनि यहाँको माटो स्पर्स गर्ने हरेकको मनमा, दिमागमा, मुटुमा, आँखामा अछामी सुगन्ध बोलेकी उहिले कि राइझुमा नाचिरहेकी हुन्छिन ।
बसन्त ऋतु आगमनसंगै हावाहुरीले पुराना पालुवा झार्दै गर्दा पनि राईझुमाको खोजी भैरहेको छ । अनि सिन्दुर हाली सजिएकी नव-यौवना जस्तै हरियाली हुने बसन्तको अन्तमा पनि उनैको अवस्य खोजी हुनेछ । जहिल्यै वसन्त ऋतु र विशु संक्रान्तिमा सबैभन्दा बढी खोजी पनि राईझुमाको हुने । हो, धेरै बर्षदेखि बसन्तको आगमन र विशुको स्वागतमा उनी देखीएकि छैनन । उनी नदेखिएको कति भयो ठ्याक्कै एकिन छैन । तर राईझुमा गुमनाम भएको बर्षौ चाहिँ भयो ।
राईझुमा कहाँ होलिन ? यो र यस्तै जिज्ञासाले धेरै लाई उद्वेलित तुल्याउछ पनि । कयौं यादहरु विते कयौं यादहरु सम्झनाको तरेलिमा बयली खेल्न आउछन, तर राईझुमा अहिलेसम्म झुल्केकी छैनन । हाम्रो लोक संस्कृतिलाई देश बिदेश चिनाउने राईझुमा अहिले चुपचाप मात्र होइन गुमनाम छन । उनि कहाँ छन, के के गर्दैछन धेरैलाई थाहा छैन । तसर्थ पनि राइझुमाको देउडा गाउने , खेल्ने र गुनगुनाउने सेरोफेरोमा उनको बारेमा खुब चासो र चिन्ता छ ।
हाम्री चेली राईझुमा । सबैकी प्यारी राईझुमा अछाममा मात्र सिमित भइनन् । यज्ञराज उपाध्यायको साथमा लागेर देश परदेश मात्र होइन् दुरदेशसम्म पुगिन । दूर देशको यात्रा अघि उनी ५० को दशकसम्म अछामसम्म सिमित थिइन् । अछामका उकाली ओरालीमा हिँड्ने लेखऔल पुग्ने राईझुमालाई यज्ञराज उपाध्यायले सबैतिर परिचित बनाउन खुब मिहिनेत गरे । २०५० सालमा यज्ञराज उपाध्यायसँग भेट भएपछि उनको गन्तब्य फेरियो । उनी नेपाल पुगिन् । अर्थात् राईझुमाले काठमाडांैंको यात्रा गरिन् ।
अछामको सेरेफेरो भन्दा बाहिर डोटी, बाजुरा र दैलेख मात्र चिनेकी उनी नेपाल पुगिन् । काठमाडांै, सुर्खेत अनि दिपायल उनका मन मुटुका ठाउँ । जत्तिको माया उनलाई साँफेदेखि श्रीकोटसम्म मिलेको थियो त्यो भन्दा बढी माया राजधानीमा मिल्यो । अनि उतै-उतै भुलिन् राईझुमा । कहिले कहीँ सुर्खेत हुँदै अछाम पुगिन् । कहिले दिपायल भएर साँफे पुगिन् । साँच्चै उनको आफ्नो अछामसँगको निकटता कहिल्यै कम भएन । राईझुमा आफू जता झुमे पनि उनको मनमा जहिल्यै अछाम झुमी रह्यो । उनको मन मुटुमा अछाम नाची रह्यो । उनको ठाणी भाका नसुन्ने कमै होलान् । अछामका उकाली ओरालीमा उनका गीतको राज थियो र छ पनि ।
राईझुमाले कानमा औला राखेर
‘लड्की हडनु बयालपाटा फर्कि हेर्नु साफ्या
मान्छे राम्रो मन मिल्याको पंक्षी राम्रो डाफ्या’
भनेर ठाणी भाका गाएको आज पनि सबैले याद गरेका छन् । गुमनाम राईझुमा र चर्चित राईझुमा यी दुबै अवस्थामा अछाम उनीसँग परिचित छ । दाङ कि कोमल वलीसँगको भेटघाटपछि हाम्री राईझुमाको लोकप्रियता खुब चुलियो । यज्ञराज उपाध्याय र कोमल वलीसँगको साथमा उनी नेपाल डुलिन् । सात समुन्द्र पारी पुगिन् । उतिबेला पनि उनी खुब लोकप्रिय । त्यसबखतको कुरा गर्दा उनको लोकप्रियता कहाँ कम भएको छ र ! परिपक्वता बढेको छ । अझै पनि उनको लोकप्रियता घटेको छैन । उहिलेको अवस्थामा कायम छ । हो त्यही लोकप्रियताका बलले हाम्री चेलीले दुनियाँ देखिन् । पश्चिम नेपाललाई संसारभर चिनाउने काम गरिन् । अरु शहरको कुरै छैन राजधानी काठमाडांै समेत उनको लागि पानी पँधेरो । ढल्ले अनि बिजउरा डाँडाको उकालो चढेर साँफे मंगलसैनको यात्रा गर्ने राईझुमा ।
जिल्लाको पूर्वी क्षेत्रका तल्लो र मल्लो भूभागमा पुग्ने राईझुमालाई पूरा अछामले चिनेको उतिबेला नै हो । मानसैन हुँदै कमल बजारमा घाँसेको राम पुगेकी छन् । दशैंमा लाग्ने बाजकोटको राम घुमेकी छन् । तितौडा दर्शन गरेर डौठेगणा पुग्ने उनको उपस्थिति सेलगाँउको चैतलो, तिमिल्सैन सैनगणाको राम, जामाको जात्रुसम्ममा पनि रह्यो । उतीबेला छविसको भुवो , बाजकोटको राम , घाटपारी सिगाउडीको जात्रामा सम्म पनी पुगेकी उनी मैठामाणु र बाल्देमाणु सम्म रमाएको धेरैको स्मृतीमा ताजै छ । साँच्चै उनी जहाँ पुगिन् हाम्रो शिर उच्च बनाइन् । जहाँ जहाँ कणर्ाली र सुदूरपश्चिम त्यहाँ त्यहाँ हाम्री राईझुमा । उनले अछाम चिनाइन् । सुदूरपश्चिमका बारे जानकारी गराइन् ।
मध्यपश्चिम (हालको कणर्ाली प्रदेश) लाई दुनियाँ सामु देखाइन । हाम्री राईझुमा नपुगेको कहाँ छ र ? उनले संसार नापेकी छन् । उनले पूरै पश्चिमलाई दूर देशसम्म चिनाइन । हाम्री चेलीको लोकप्रियता अहिले पनि बरकरार छ । पछिल्लो चर्चा परिचर्चाले उनको प्रसिद्ध झन् बढेको अनुमान लगाउन गाह्रो छैन । यही मंसिरको महिना विवाहको सिजन पनि । वैवाहिक समारोहमा सरिक हुन मैले बर्दियादेखि दाङसम्म फन्को लगाएँ । राईझुमाको रुतवा कम भएको छैन । उनको चर्चा अझै चुलिएको सहजै अनुमान गरियो । राईझुमालाई सम्झिने र खोज्नेहरु अहिले पनि गाउँदेखि शहरसम्म छन् । राईझुमाको याद गर्नेहरु पनि गाउँदेखि शहरसम्मै ।
तर पछिल्लोपटक राईझुमा मुलधारबाट केही पर पुगेकि छन् । नजिकै बसेर पनि केही टाढा । यतिखेर उनी अछामको सुदूर गाउँमा छन् । यहाँका गतिविधिको समिक्षा गरिरहेकाले पनि होला भेट मुलाकात हुन सकिरहेको छैन । मिथक झै लाग्ने राईझुमा पनि मानिस हुन् । उनको पनि मन छ । देश विदेश पुगेकी उनी जिल्लाको अवस्था देखेर चिन्तित भएकि छन् । परिचितहरु भन्छन् दुर्गम पहाडका समस्यासँग एकाकार भएकी उनी उत्साहित छैनन् । राईझुमा अचेल धीर गम्भीर देखिन्छन् । अनुहारको सुन्दरताको चमक कायमै रहे पनि उनी बौद्धिक सुन्दरताले भरिएको सजिलोसँग अनुमान लगाउन सकिन्छ ।
अछाम पुग्ने हरेक मान्छेले आफ्ना बारेमा सोधखोज गरेको राईझुमालाई थाहा छ । मनको कुनमा केही गुनासा लिएर केही असन्तुष्टिका साथ उनले गुमनाम रहन नै आनन्द मानेकी छन् । स्वार्थी दुनियाँ देखेर दिक्क उनी अचेल अछामका सुदूर गाउँमा छन् । देश परदेश पुगिसकेकि उनी अछाम पुगेपछि काममा पनि सक्रिय भैरहन्छन् । यो पालि पनि उनको सक्रियता कम थिएन । कहिले बुढीगंगाको बगरमा, कहिले कैलाशको किनारमा, कहिलेकहीँ चाइरा हुँदै गाउँका खेतसम्म पुगेकी हुन्थिन् । कणर्ाली तिरमा पनि उनको उपस्थिति थियो । किसान परिवारकी राईझुमालाई बाली भित्र्याउन चटारो थियो ।
पचासको दशककी राईझुमा हराएकि होइनन् । उनी गाउँ घरमा घरायसी काममा लागेकी छन् । संसार देखेकी राईझुमा अछाम फर्किन् तर दिक्क मानेर बसिरहेकी छन् । राईझुमा नभेटिए कि होइनन् । उनले कसैलाई भेट्न नखोजेकी हुन् । राजाका गाउँ देखेकि राईझुमा राष्ट्रपतिको गाउँ देख्दा झन् दिक्दार छन् ।
अचेल सुदूर गाउँका वनपाखा मेलापातमा जीवन संघर्षका क्रममा आआफ्नै भोगाइ र अनुभव साझा गरिरहेकी हुन्छन् । सामाजिक सञ्जालको दुनियाँमा राईझुमा पनि सक्रिय छन् । त्यसैले, अछामका हरेक गतिविधि उनले नजिकबाट नियाली रहेकी छन् । अछामी नेताहरूको गफ सुनेर वाक्क दिक्क भएकी राईझुमाको अनुहार हेरेर पनि सहजै अनुमान लगाउन सकिन्छ ।
त्यसैले, अचेल उनी वनपाखामा मेर लाग्ने गरी
दर्नाली कोटको राजा लुगा लाउँदो झुलाई ।
आइजाय बसेका ठौर सम्झी जाय मलाई ॥
भनेर गाएको सुनिन्छ । पाहुना बनेर जिल्ला आउनेहरुले खुसीहरु बाँडेको देख्दा उनलाई पनि गजब लागेको छ । तर पनि साँच्चै राईझुमा किन ओझेल हुन खोजिन् यो प्रश्न आफैमा महत्वपूणर् छ ।
शरद ऋतुमा फूल फूलेर अछाम रंगीचंगी भएको बेला पनि राईझुमा आफ्नै सेरोफेरोमा थिइन् । आजभोलि पनि गहुँ, जौले हरियाली र बसाले (तोरी) फुलेर पहेलपुर देखिने जिउला सैन र सेरा खेत गणा हेरेर आफ्नै गाउँमा गमक्क परेकी छन् । उनी कहीँ यतिबेला देश, प्रदेश, माल, मधेस र मलबार कहीँ गएकी छैनन् । यतै अछामका उकाली ओरालीको यात्रामा छन् ।
ठाणी भाकामा
सुतारिका भैसा चद्दा किन्मिनी पाटन ।
दिहेल साइ हातको रुमाल सौरडी साटन ॥
भनिरहेकी छन् । राईझुमा नौमुठे गाइकी गोठाली भएर चित्रेको अवरुद्ध पक्की पुल नजिक छिन् । राईझुमाको माथिल्लो कणर्ालीको असारादेखि जङ्गलघाटका बीचमा ओहोरदोहोर चलिरहेको छ । भारत जान लागेका सवार गाडीलाई हेर्दै रुमाल फट्काउनेमा उनको पनि उपस्थिति रहन्छ । गिट्टी कुट्ने, मजदुरी गर्ने, आमा दिदीबहिनीको बीचमा थिइन् राईझुमा । मेल्लेखको उच्च लेकाली भूभागदेखि ढकारीका सैन र बलाताका मालसम्मै पुगेकी थिइन् उनी । मनमोहक खेतगैरा र सुन्दर खोकलेगैरा जस्ता रमणीय ठाउँ पनि उनको गन्तव्य हुन् ।
माघको महिनामा च्यालत्यार खाने र पुर्याउने मध्ये उनी पनि हुन्छन् । उनलाई गाउँघरका आमा दिदीबहिनीको मुस्कान खुब मनपर्ने । त्यसैले पनि त्यही मुस्कानमा अल्झिएका कारण आज उनलाई अछामका उकाली ओराली भञ्ज्याङ र चौतारी खुब प्रिय छन् । प्यारो अछाम, घमाइलो अछाम, रमाइलो अछाम राईझुमाको मुटुमा टाँसिएको छ । अतीतमा घुमेका देश विदेशका सम्झनाको पोको बोकेर दूर गाउँका रुमटा टोल नै राईझुमाका प्रिय बनेका छन् । अछाममा बेला बेला हुने कामले उनलाई खुशी मिल्छ । छाउपडी प्रथा विरुद्धको अभियान शुरु हुँदा उनको खुशीको सीमा थिएन । तर उनका स्थानीयसँग केही गुनासा पनि छन ।
सबैभन्दा पहिले अछाम जिल्लामा विकासका भौतिक पूर्वाधारका क्षेत्रमा भएको अनियमितता उनलाई चित्त बुझेको छैन । त्योभन्दा बढी स्थानीय प्रशासन उदासीन हुँदा उनको चित्त दुखेको छ । गाडीका पैया गुड्ने मध्यपहाडी राजमार्गको गुणस्तर कमजोर काम कमसल हुँदा पनि स्थानीय प्रशासनले देखाएको मौनता आफैमा अर्थपूणर् छ । राईझुमा राष्ट्रिय महत्वको मध्य पहाडी राजमार्गको अछाम खण्डमा नेतृत्वको भूमिकाको खोजीमा छन् ।
मंगलसैनको निर्माणाधीन दरवारको अवस्था हेर्दा उनको आँखा रसाउँछ । निर्माण शुरु भएर पूरा नभएका केही भवनहरुले गिज्याई रहेका छन् । जिल्लामा सडक निर्माणका नाममा निरन्तर चलिरहेको डोजर आतंकले पनि हाम्री चेलीलाई विचलित बनाएको छ ।
त्यसैले यो पंक्तिकारलाई पनि राईझुमाको कुरा खुब मन परेको छ । स्थानीय प्रशासन, यहाँको नेतृत्वले राईझुमा मात्र खोज्ने होइन । राईझुमाहरुका दुःख पनि महसुस गर्न आवश्यक देखिन्छ । गुणस्तरहीन काम गर्ने मध्यपहाडी लोकमार्गको ठेकेदारलाई खोजौं । आफ्ना कुरा मात्रै सुनाउने होइन राईझुमाले भनेझैं साँच्चै राईझुमाहरुका दुःख कम गर्न परिणाम आउने गरी काम गर्नु आजको आवश्यकता हो ।
लेखक तिमिल्सैना नेपाल पत्रकार महासंघ अछामका संस्थापक अध्यक्ष एवं हाल नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रदेस सदस्य हुन् ।