रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता
२१ साउन, चितवन । ६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।
रास्वा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको एक सय दिन पुगेको अवसरमा पुरानो मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिक सन्चालनमा ल्याएको घोषणा गरेका थिए । तर गैरकानूनी रुपमा रङ् परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै यो विवादमा परेको थियो ।
विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए । अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।