गुनासो व्यवस्थापन गर्न अछाम प्रहरीले गर्यो : क्युआर कोड सार्वजनिक
सुशील भण्डारी ,अछाम : जिल्ला प्रहरी कार्यालय अछामले गुनासो व्यवस्थापनको लागि क्युआर कोडको प्रयोग सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय अछाममा मंगलबार एक कार्यक्रमका बीच अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले क्युआर कोड सार्वजनिक गरेका हुन् ।
प्रहरी सेवासम्बन्धी गुनासो र सुझाव संकलनको लागि प्रहरीले उक्त सेवाको सुरुवात गरेको हो । साथै नागरिकले क्यूआर कोडबाट आफ्नो नजिकै भएको घटनाबारे पनि जानकारी गराउन सक्नेछन् ।
यो सेवाले गुनासो व्यवस्थापनलाई छिटो छरितो र व्यवस्थित बनाउने, नागरिकका गुनासोहरूको अभिलेख व्यवस्थापनको कार्य गर्नेछ । साथै प्रहरीसँग सम्बन्धित गुनासो र सुझावहरू संकलन प्रक्रियालाई प्रविधिमैत्री बनाउने, सेवाग्राहीको समय र खर्चको बचत तथा गोपनियता कायम गर्ने कार्य पनि यो सेवाबाट गरिनेछ । सूचना दिने मान्छेले नाम उल्लेख नगरे पनि हुने प्रहरी नायब उपरीक्षक पाठकले बताए ।
आम सेवाग्राहीको हितलाई मध्यनजर गर्दै प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो वा कैफियत भएमा सिधै क्युआर कोड मार्फत सम्बन्धित जिल्लाका प्रहरी प्रमुख संग सेवाग्राहिहरुले उजुरी गर्न पाइने पाठकले बताए ।
प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने आजको आवस्यकता रहेको बताए ।
लगत्तै जिल्ला प्रहरी कार्यालय अछाम मातहतका सबै प्रहरी युनिटरुमा सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने अछाम प्रहरीले जनाएको छ ।