किशोरी मृत्यु प्रकरण : अछामका जनप्रतिनिधिद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
अछाम : अछामका दुई जना किशोरी मृत्यु प्रकरणमा घटनाको छानबिनका लागि अछामका जनप्रतिनिधिहरूले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन ।
सोमबार बिहान मन्त्री निवासमै पुगेर पूर्व मन्त्री तथा अछाम १ का सांसद शेरबहादुर कुवर, अछाम २ का सांसद पुष्पबहादुर शाह र पन्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउनेले घटनाको निष्पक्ष छानबिनको लागि गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन ।
उनिहरूसँग मन्त्री लेखकले घटनाको सुरुवात देखी नै आफूले गम्भीरता पूर्वक लिएको बताएको नगरप्रमुख चलाउनेले जानकारी दिईन। उनका अनुसार घटनाको छानबिनका लागि प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान थालेको छ । यस्तै भारतमा भएको रेल दुर्घटनामा ज्यान गुमाउने अछामका ५ जनाको परिवारलाई सरकारले राहत दिनुपर्ने विषयमा अछामका जनप्रतिनिधिले गृहमन्त्री समक्ष माग गरेका छन । उनिहरुले नेपाल देखी भारतमा काममा जाने मजदुरको बिमा गरिनुपर्ने धारणा राख्दै सरकार यस्ता घटनामा गम्भीर बन्नुपर्ने बताए ।
जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो ।
शवको भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा पोस्टमार्टम भइरहेको छ ।