ए मान्छे ! अब त सोच ।
✍ कुस्माखर न्यौपाने
ए मान्छे !
नगरपालिकाको फोहोर उठाउने गाडी कुर्दै कुनामा कोचेर राखिएको थोत्रो गुन्द्री झैँ,
कोरोनाले तँलाई घरभित्रै थन्क्याइदिदा पनि,
झ्यालबाट चियाउँदै छिमेकीको घरको अग्लो छत देखेर जल्न छोडिनस् है ?
तेरो शहर श्मशान झैँ निराश अनि रातझैं चकमन्न परेको बेला पनि,
घरभित्रैबाट सत्तालिप्सा र धनआर्जनको जालझेल गर्न अनि
अरुलाई शत्रुको उपमा दिदै आडम्बरका हुँकार छर्न छोडिनस् है ?
रोगले जर्जर अनि भोकले बर्बर आवाजहरुका बीच,
कैयौँ पुस्तासम्मलाई पुग्ने धन थुपार्ने कुचेष्टा गर्दै,
राहतका औषधि र खाद्यन्नमा पनि भ्रष्टाचार गर्न छोडिनस् है ?
धार्मिक ग्रन्थहरुमा त्यत्तिकै लेखिएको होइन रछ,
कलीयुगको अन्ततिर पृथ्वी ध्वस्त हुने र मानव अस्तित्व समाप्त हुने भनेर,
सोच, कोरोना त्यसैको लागि यमदूत भएर आएको पो हो कि ?
व्ल्याक डेथ अनि स्प्यानिश फ्लु त नटेरेको तैलै,
जाबो कोरोनाले के नै पो गर्ला र सोचेको जस्तो छ हगि,
कोरोनाले कति खान्छ त्यो त हेर्न बाँकि नै छ,
कुनै दिन ब्ल्याक डेथ (प्लेग) भन्दा पनि कैयौं गुणा शक्तिशाली महाव्याधि आउने छ,
त्यो दिन नत तँ रहन्छस्, न तेरो कुनै शत्रु रहन्छ, न त तेरो धन नै काम लाग्छ ।
त्यो अवस्थाको कल्पना गरेर हेर त त्यो दिन तेरो नामोनिशाना हराउने वाला छ ।
तैले जति पुस्तालाई भनेर कूम्ल्याएको छस् नि, त्यो पुस्ता नै अस्तित्वमा आउन पाउने छैन ।
८४ लाख जुनी कुरेर मात्र तँ तँ जस्तो भएर जन्मिने छस्
तैपनि तँ आफै होस् कि कोही अरु थाहा पाउने छैनस् ,
त्यसैले होस् गर, अझै पनि दया,माया, करुणा मन्मा राख्दैनस् भने
सर्वहितका लागि जाग्दैनस् भने, प्रकृति वचाउनतिर लाग्दैनस् भने,
मानवतालाई अँगालेर भ्रष्टता, शत्रुता र कटुता त्याग्दैनस् भने
तेरो प्रलय निश्चित छ, तँ सर्वनाश हुने छस् ।
तेरा लागि त्यो त्यस्तो दर्दनाक कालखण्ड हुनेछ,
न तैले अरुलाई पछारेर,लघारेर कमाएको प्रतिष्ठाबाट सलामी पाउने छस् ,
न त तैले कमाएको धनराशीबाट कात्रो ओढ्न पाउने छस्,
यति सम्म कि तँलाई मर्ने बेला पानी पिलाउने पनि कोही हुने छैन,
तैले रातारात कमाएको कालो धनबाट जत्ति पनि जमिन खरिद गर,
तँ यसरी मर्ने छस् कि त्यो जमिनमा तेरो लाश गाडिदिने पनि कोही बाँकि रहने छैन ।
केवल गिद्ध हुने छन् तेरो वरीपरी र सर्वत्र नांगो तेरो लाशले तँलाई गिज्याउँदै हाँस्ने छ ।
जसरी यो चकमन्न रातमा बादलले जुनलाई गिज्याउँदै हाँसेको छ ।
सोच, छिटो सोच । अफसोच, सोचिनस् भने, अझै चेतिनस् भने मेरो भन्नु केही छैन ।
ए मानव !