पेटभरी खान पाए, हाम्रा लागि त्यही दसैं हुन्थ्यो (पहिरो पी’डित परिवार)
जाजरकोट : गत असारमा गएको पहिरोमा आमाबाबु र दुई बहिनी गरी घरका चारजना गुमाएर एक्लै बाँचेका बारेकोट ४ सार्कीटोलका कृष्णबहादुर सार्कीलाई त्यो पीडाले अहिले पनि पछ्याइरहेको छ ।
१८ वर्षीय कृष्ण बेलाबेलामा झस्किने गर्छन् । परिवारै गुमाउनु पर्दाको पीडा त छँदैछ । भावी जीवन कसरी बिताउने चिन्ताछ छन् उनी । दुःखजिलो गरेर जेनतेन रमाइरहेको थियो सार्की परिवार तर गत असार २५ गते मध्यरातमा आएको पहिरोले उनीहरुको सबै खुसी खोस्यो ।
परिवारका चार सदस्य चुडेर लग्यो । आफन्तको घर गएर बाँचेका कृष्णबहादुर कसरी जीन्दगीको नयाँ अध्याय थालनी गर्ने भन्ने अझै टुङ्गोमा पुगिसकेका छैनन् । बस्ने घर र खाने गास खोसिएपछि उनी छिमेकी काकीको घरमा शरण लिएर बसेका छन् ।
हुनेखानेका घरमा दसैं आएपनि उनलाई दसैंको कुनै रौनक छैन । पेटभर खान पाएका छैनन् । घरगृहस्ति कसरी चलाउने भन्ने चिन्तामा छन् । आर्थिक अवस्था निकै कमजोर भएका उनलाई दसैंले गिज्याइरहेको अनुभुति हुने गरेको छ । ‘पेटभरी खान पाए हाम्रो लागि त्यही दसैं हुन्थ्यो,’ उनले भने ।
‘दिनमा घामले पोल्छ । रातमा चिसोले सताउँछ । खाने अन्न छैन । भएको घर पहिरोले बगाएर लग्यो । विकल्प केही नभएपछि यही त्रिपालमुनी गुजरा चलाइरहेका छौं, जिल्लाको बारेकोट गाँउपालिका ४ गोठगाँउ तलगाँउकी गोरी नेपालीले यी पिडा सुनाइ रहँदा उनको गला अवरुद्ध भयो, आँखा रसाए ।
गत असार २५ को मध्यरातमा आएको पहिरोले घर बगाएपछि उनको ६ जनाको परिवार विस्थापित भएर नजिकैको जंगलमा त्रिपाल टाँगेर बसेको छ । गाँउपालिका र अन्य संघसंस्थाले राहत स्वरुप दिएको केही खाद्यान्नले केही समय जेनतेन चल्यो ।
भएको पाखोबारी सवै पहिरोले लग्यो । ‘घरमा कमाइ गर्ने कोही छैन। अब के खाएर बाँच्ने हो । पेटभरी खान पाएका छैनौं, हामी त साह्रै समस्यामा पर्यौं हजुर गोरीले भनिन्, ‘पहिले घरभएको ठाँउ फर्कन सक्ने अवस्था छैन । कहिलेसम्म यसरी त्रिपालमै बस्नुपर्ने हो कुनै टुङ्गो छैन ।’
उनीजस्तै १४ दलित परिवार अहिले पनि विस्थापित जीवन विताइरहेका छन् । पहिरोले केही घर बगाएको र केही बस्नै नमिल्ने गरी चर्किएपछि उनीहरु त्रिपालको साहारा लिन बाध्य भएका हुन् । (अन्नपुर्ण पोष्टबाट)