अनेसास कोरिया च्याप्टरद्वारा आयोजित लक्ष्मी जयन्ती भव्य रूपले सम्पन्न
अनेसास कोरिया च्याप्टरद्वारा आयोजित ११२ औँ लक्ष्मी जयन्ती भव्य रूपले सम्पन्न भयो। च्याप्टरले गुगल स्ट्रिमको माध्यमबाट भर्चुअल विमर्श तथा वाचन कार्यक्रम गरेको थियो।
अनेसास कोरिया च्याप्टरको आयोजनामा सम्पन्न सो कार्यक्रममा मूर्धन्य कवि तथा गीतकार बम बहादुर जितालीको प्रमुख आतिथ्य रहेको थियो। त्यसैगरी कार्यक्रममा विशिष्ट अथिति प्रखर छन्दकवि मनोज भण्डारी र अतिथि कवि सरू बस्नेत रहेका थिए भने कार्यक्रमको सभापतित्व अनेसास कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारंगले गरेका थिए।
कार्यक्रममा अतिथिहरूले महाकवि देवकोटाका व्यक्तित्व , लेखन र योगदानबारे स्मरण गर्दै वहाँप्रति श्रद्धा -सुमन व्यक्त गरेका थिए। नेपाली साहित्यका प्रतिभाशाली आधारस्तम्भ महाकवि देवकोटा कविताका साथै निबन्धमा पनि उत्त्तिकै विलक्षण प्रतिभा रहेको, एसियाकै तारा रहेको विमश गर्दै अतिथिहरूले उनका र आफ्ना सिर्जनाहरू वाचन गरेका थिए।
देवकोटाका रचनाहरूमा प्रकृति प्रेम , सामाजिक परिवेश , विभेदता, मानवतावादबारे अध्यक्ष सारंगले स्पष्ट पार्दै उनका चर्चित कविताहरू वाचन गरेर कार्यक्रम समापन गरेका थिए भने च्याप्टरका महासचिव ह्यारी बोण्डले कार्यक्रम चलाएका थिए।
भाषासाहित्य, संगीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था कोरिया च्याप्टरले स्रष्टा सम्मान , भानु जयन्ती, लक्ष्मी जयन्ती , मोती जयन्तीलगायत विभिन्न कविता प्रतियोगिताहरू र सम्मेलनहरू गर्दै आएको छ भने लामो समयदेखि काव्य- सुधा नामक विश्वव्यापी साप्ताहिक रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ।