चन्द्रागिरिकाे साधारण शेयर मङ्सिर १७ गतेदेखि, पुरा पढ्नुहाेस्
वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ ।
सो कम्पनीले यही मङ्सिर १७ गतेदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमतिसमेत प्रदान गरिसकेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गर्ने भएको छ । विवरणअनुसार पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा आगामी पुस १ गतेसम्म र ढिलोमा आगामी पुस १६ गतेसम्म हुनेछ ।
कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता बिक्री गर्नेछ । आयोजना प्रभावित क्षेत्रमा काठमाडौँ जिल्लाअन्तर्गत चन्द्रागिरि नगरपालिका ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गाविसको वडा नं ३, ४, ५, ६, ७, ८ एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं ९ र १० रहेका छन् ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको साधारण शेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम तीन हजार ६० कित्तासम्म आवेदन दिन सकिनेछ । यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्री गरिनेछ । कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ ।
धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी रु रु एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी रहेको छ ।
रासस