राइझुमाले सिडिओलाई भेट्ने छैनन् !

राइझुमाले सिडिओलाई भेट्ने छैनन् !

राइझुमा समय मिलाएर सबैतिर पुगेकै हुन्थिन् । कर्णाली र सेती लोडेदेखि बौजनाथको शिवरात्रीमा पनि पुगिन् उनी । तर द्वन्द्वको समयमा केही बाधा आए । केही अवरोध भयो । द्वन्द्व गाउँ पस्यो । राइझुमा शहर पसिन् । विदेश पुगिन् । दूरदेशको यात्रा गरिन् । राइझुमा नपुगेको गाउँ छैन । उनी नपुगेको ठाउँ छैन । सबैकी प्यारी चेली । अछामकी चेली ।

–वेदप्रकाश तिमिल्सैना
हाम्री चेली राईझुमा । सबैकी प्यारी राइझुमा अछाममा मात्र सिमित भइनन् । यज्ञराज उपाध्यायको साथमा लागेर देश परदेश मात्र हुन दुर देशसम्म पुगिन । दूर देशको यत्रा अघि उनी ५० को दसकसम्म अछामसम्म सिमित थिइन् । अछामका उकाली ओरालीमा हिड्ने लेख औल पुग्ने राइझुमालाई यज्ञराज उपाध्यायले सबैतिर परिचीत बनाउन खुब मिहिनेत गरे । २०५० सालमा यज्ञराज उपाध्यायसँग भेट भएपछि उनको गन्तव्य फेरियो । उनी नेपाल पुगिन् । अर्थात राइझुमाले काठमाडौको यात्रा गरिन् ।

अछामको सेरेफेरोभन्दा बाहिर डोटी , बाजुरा र दैलेख मात्र चिनेकी उनी नेपाल पुगिन् । काठमाडौ, सुर्खेत अनि दिपायल उनका मन मुटुका ठाउँ । जत्तिको माया उनलाई साफेदेखि श्रीकोटसम्म मिलेको थियो त्योभन्दा बढी माया राजधानीमा मिल्यो । अनि उतै उतै भुलिन् राईझुमा । कहिले कहीँ सुर्खेत हुँदै अछाम पुगिन् । कहिले दिपायल भएर साफे पुगिन् । साच्चै उनको आफ्नो अछामसँगको निकटका कहिले कम भएन । राईझुमा आफू जता झुमे पनि उनको मनमा जहिले अछाम झुमी रह्यो । उनको मन मुटुमा अछाम नाची रह्यो । उनले ठाणि भाका नसुन्ने कमै होलान् । अछामका उकाली ओरालीमा उनका गीतको राज थियो र छ पनि । राइझुमाले कानमा औला राखेर
लड्की हडनु वयालपाटा फर्कि हेर्नु साफ्या
मान्छे राम्रो मन मिल्याको पंक्षी राम्रो डाफ्या ।

भनेर ठाणी भाका गायको आज पनि सबैले याद गरेका छन् । गुमनाम राइझुमा र चर्चित राइझुमा यी दुबै अवस्थामा अछाम उनीसँग परिचीत छ ।

दाङ कि कोमल वलीसँगको भेटघाटपछि हाम्री राइझुमाको लोकप्रियता खुब चुलियो । यज्ञराज उपाध्याय र कोमल वलीसँगको साथमा उनी नेपाल डुलिन् । सात समुन्द्र पारी पुगिन् । उतिबेला पनि उनी खुब लोकप्रिय । त्यसबखतको कुरा गर्दा उनको लोकप्रियता कहाँ कम भएको छ र ! परिपक्वता बढेको छ । लोकप्रियता घटेको छैन । उहिलेको अवस्थामा कायम छ । हो त्यही लोकप्रियताका बलले हाम्री चेलीले दुनियाँ देखिन् । पश्चिम नेपाललाई संसारभर चिनाउने काम गरिन् । अरु शहरको कुरै छैन राजधानी काठमाडौ समेत उनको लागि पानी पधेरो । ढल्ले अनि बिउराको डाडाको उकालो चढेर साफे मंगलसैनको यात्रा गर्ने राइझुमा । जिल्लाको पूर्वी क्षेत्रका तल्लो र मल्लो भूभागमा पुग्ने राइझुमा लाई पूरा अछामले चिनेको उतिबेला नै । गैटाण हुँदै कमल बजारमा घाँसेको राम पुगेकी छन् । दशैंमा लाग्ने बाजकोटको राम घुमेकी छन् । तितौडा दर्शन गरेर डौठेगणा पुग्ने उनको उपस्थिति सेलगाउको चैतलो, तिमिल्सैन सैनगणाको राम, जामाको जात्रुसम्ममा पनि रह्यो ।

राइझुमा समय मिलाएर सबैतिर पुगेकै हुन्थिन् । कर्णाली र सेती लोडेदेखि बौजनाथको शिवरात्रीमा पनि पुगिन् उनी । तर द्वन्द्वको समयमा केही बाधा आए । केही अवरोध भयो । द्वन्द्व गाउँ पस्यो । राइझुमा शहर पसिन् । विदेश पुगिन् । दूरदेशको यात्रा गरिन् । राइझुमा नपुगेको गाउँ छैन । उनी नपुगेको ठाउँ छैन । सबैकी प्यारी चेली । अछामकी चेली । उनी पछि साविकको मध्य सुदूरपश्चिमकी साझा चेली । राइझुमा हाम्री चेली । साच्चै उनी जहाँ पुगिन् हाम्रो शिर उच्च बनाइन् । जहाँ जहाँ कर्णाली र सुदूरपश्चिम त्यहाँ त्यहाँ हाम्री राइझुमा । उनले अछाम चिनाइन् । सुदूरपश्चिमका बारे जानकारी गराइन् ।

मध्यपश्चिम (हालको कर्णाली प्रदेश) लाई दुनियाँ सामु देखाइन । हाम्री राइझुमा नपुगेको कहाँ छ र ? उनले संसार नापेकी छन् । उनले पुरै पश्चिमलाई दूर देशसम्म चिनाइन । हाम्री चेलिको लोकप्रियता अहिले पनि बरकरार छ । पछिल्लो चर्चा परिचर्चाले उनको प्रसिद्ध झन् बडेको अनुमान लागाउन गाह्रो छैन । यही सालक मंसिरको महिना । विवाहको सिजन पनि । त्यसैले वैवाहिक समारोहमा सरिक हुन मैले बर्दिया देखि दाङसम्म फन्को लगाएँ । राइझुमाको रुतवा कम भएको छैन । उनको चर्चा अझै चुलिएको सहजै अनुमान गरियो । राइझुमालाई सम्झिने र खोज्ने हरु अहिले पनि गाउँदेखि शहरसम्म छन् । राइझुमाको याद गर्नेहरु पनि गाउँदेखि शहरसम्मै ।

तर पछिल्लोपटक राइझुमा मुलधारबाट केही पर पुगेकि छन् । नजिकै बसेर पनि केही टाढा । यतिखेर उनी अछामको सुदूर गाउँमा छन् । यहाँका गतिविधिको समिक्षा गरिरहेकाले पनि होला भेट मुलाकात हुन सकिरहेको छैन । मिथक झै लाग्ने राइझुमा पनि मानिस हुन । उनको पनि मन छ । देश विदेश पुगेकी उनी जिल्लाको अवस्था देखेर चिन्तित भएकि छन् । परिचीतहरु भन्छन् दुर्गम पहाडका समस्यासँग एकाकार भएकी उनी उत्साही छैनन् । प्रमुख जिल्ला अधिकारीले कल्पना गरेजस्तो पहिलेकी चुलबुले राइझुमा अचेल धीर गम्भीर देखिन्छन् । अनुहारको सुन्दरताको चमक कायमै रहेपनी उनी बौद्धिक सुन्दरताले भरिएको सजिलोसँग अनुमान लगाउन सकिन्छ ।

नयाँ आएका सिडिओले आफ्ना बारेमा सोधखोज गरेको राइझुमालाई असोज मै थाहा भएको हो । मनको कुनमा केही गुनासा लिएर केही असन्तुष्टिका साथ उनले गुमनाम रहन नै आनन्द मानेकी छन् । स्वार्थी दुनियाँ देखेर दिक्क उनी अचेल अछामका सुदूर गाउँमा छन् । देश परदेश पुगिसकेकि उनी अछाम पुगेपछि काममा पनि सक्रिय भैरहन्छन् । यो पालि पनि उनको सक्रियता कम थिएन । मद्य असोजमा उनको खोजी हुँदा उनी निकै ब्यस्त थिइन् । कहिले बुढीगंगाको बगरमा, कहिले कैलासको किनारमा, कहिलेकहीँ चाइरा हुँदै गाउँका खेतसम्म पुगेकी हुन्थिन् । कर्णाली तिरमा पनि उनको उपस्थिति थियो । किसान परिवारकी राइझुमालाई बाली भित्र्याउन चटारो थियो ।

पचासको दशककी राइझुमा हराएकि होइनन् । उनी गाउँ घरमा घरायसी काममा लागेकी छन् । संसार देखेकी राइझुमा अछाम फर्किन् तर दिक्क मानेर बसिरहेकी छन् । राइझुमा नभेटिएकि होइनन् । उनले कसैलाई भेट्न नखोजेकी हुन् । राजाका गाउँ देखेकि राइझुमा राष्ट्रपतिको गाउँ देख्दा झन् दिक्दार छन् । अछाम पुगेपछि सिडिओ सापले तिम्रो ठाउँमा तिमीलाई नै भेटिनँ राइझुमा ! भन्दै राइझुमाको खोजी गर्नुभएको उनलाई थाहा नभएको कहाँ हो र ? तर उनले थाहा नपाएको झैँ गरिन् । अनि राईझुमा आफ्नो दुनियाँमा बेस्त र मस्त भईन् । खेती किसानीमा लागिन् । मंसिरमा विवाहमा रतेडीमा रमाईन् ।

अचेल सुदूर गाउँका वनपाखा मेलापातमा जीवन संघर्षका क्रममा आआफ्नै भोगाइ र अनुभव साझा गरिरहेकी हुन्छन् । सामाजिक सञ्जालको दुनियाँमा राइझुमा पनि सक्रिय छन् । त्यसैले, अछामका प्रमुख जिल्ला अधिकारीका काम कामकारबाहीलाई पनि नजिकबाट नियालेकी छन् । पारदर्शी प्रशासन चलाउने तरिकाबाट राइझुमा पनि प्रभावित छन् । जिल्ला प्रशासनको काम गर्ने शैली उनलाई खुब मन परेको छ । असल सोच भएका लेखक मनका सिडिओसँग राइझुमा पनि प्रभावित छन् । अछामी नेताहरूको गफ सुनेर वाक्क दिक्क भएकी राइझुमाको अनुहार हेरेर पनि सिडिओका गतिविधिलाई आशातित नजरले हेरिरहेको सहजै अनुमान लगाउन सकिन्छ । सायद सिडिओ साहबको स्नेहको ताजा र न्यानो अनुभूति राइझुमालाई पनि होला ।

त्यसैले, अचेल उनी वनपाखामा मेर लाग्ने गरी दर्नाली कोटको राजा लुगा लाउदो झुलाई-आइजाय बसेका ठौर सम्झी जाय मलाई भनेर गायको सुनिन्छ । पाहुना बनेर जिल्ला आएका प्रशासकले यति धेरै खुसीहरु बाँडेको देख्दा उनलाई पनि गजब लागेको छ । तर सिडिओले खोज्दा पनि साँच्चै राइझुमा किन ओझेल हुन खोजीन् यो प्रश्न आफैमा महत्त्वपूर्ण छ । सिडिओले अछामको भूमिमा उनलाई खुब खोजे तर निकै कोसिस गर्दा पनि भेट्न सकेनन् । सिडिओको नजिकै पुग्दापनि भेट्न नचाहिनु कम रहस्यमय छैन । आखिर किन उनले सिडिओबाट दुरी बनाइन यो खुल्दुली लाग्दो विषय पनि हो ।

अछाममा बाढी पहिरोको प्रकोप बढेको समयमा अछाम पुगेका प्रमुख जिल्ला अधिकारीले कार्तिकको पहिलो हप्तासम्म पनि राइझुमालाई भेट्न नसकेको सार्वजनिक गरेका छन् । तर अहिलेसम्म थप कुरा बाहिर न आएको हुँदा उनको र राइझुमाको भेट नभएको प्रष्टसँग थाहा पाउन सकिन्छ । शरद ऋतुमा फूल फूलेर अछाम रंगीचंगी भएको बेला पनि राइझुमा आफ्नै अछाम आफ्नै सेरोफेरोमा थिइन् । आजभोलि पनि गहुँ , जौले हरियाली र बसाले (तोरि) फुलेर पहेलपुर देखिने जिउला सैन र सेरा खेत गणा हेरेर आफनै गाउँमा गमक्क परेकी छन् । उनी कहीँ यतिबेला देश, प्रदेश, माल, मधेस र मलबार कहीँ गएकी छैनन् । यतै अछामका उकाली ओरालीको यात्रामा छन् उनी ।

ठाणी भाकामा सुतारिका भैसा चद्दा किनिमिनी पाटन दिएल साइ हातको रुमाल सौरडी साट्न भनिरहेकी छन् । गोकर्ण सर तपाईं चौरपाटीका केराघारी पुग्दा राइझुमा नौमुठे गाइकी गोठाली थिइन् चित्रेको अवरुद्ध पक्की पुल नजिक । जिल्ला प्रशासनको गाडी तुर्माखाँदको सुन्तला वारी पुग्दा राइझुमा माथिल्लो कर्णालीको असारादेखि जङ्गलघाटका बीचमा ओहोरदोहोर चलिरहेको थियो । भारत जान लागेका सवार गाडीलाई हेर्दै रुमाल फट्काउनेमा उनको पनि उपस्थिति थियो । गिट्टी कुट्ने मजदुरी गर्ने आमा दिदीबहिनीको बीचमा थिइन् राइझुमा । मेल्लेखको उच्च लेकाली भूभागदेखि ढकारीका सैन र बलाताका मालसम्मै पुगेकी थिइन् उनी । मनमोहक खेतगैरा र सुन्दर खोकलेगैरा जस्ता रमणीय ठाउँ पनि उनको गन्तव्य हुन् ।

माघको महिनामा च्याल त्यार खाने र पुर्याउने मध्ये उनी पनि हुन्छन् । उनलाई गाउँघरका आमा दिदीबहिनीको मुस्कान खुब मनपर्ने । त्यसैले पनि त्यही मुस्कानमा अल्झिएका कारण आज उनी अछामका उकाली ओराली भञ्ज्याङ र चौतारी उनलाई खुब प्रिय लाग्छन् । प्यारो अछाम, घमाइलो अछाम, रमाइलो अछाम राइझुमाको मुटुमा टाँसिएको छ । अतितमा घुमेक देश विदेशका सम्झनाको पोको बोकेर दूर गाउँका रुमटा टोल नै राइझुमाका प्रिय बनेका छन् । सिडिओले खुब खोजे रे भनेको सुनेर एक्लै मुस्कुराउँछन् पनि ।

सिडिओले गरिरहेका काम उनलाई निका लागेका छन् । छाउपडी प्रथा विरुद्धको अभियान फेरि सुरु भएकोमा खुसी पनि छन् । तर स्थानीय प्रशासन संग केही गुनासा पनि छन । जिल्ला प्रशासन र सिडिओप्रति केही गुनासा अनि असन्तुष्टि पनि । ती गुनासा सम्बोधन भएपछि नासो सहित मायाको चिनो ल्यायर एका बिहानै जिल्ला प्रशासनको परिसरमा झुल्किने राझुमाको तयारी छ । उनलाई आफ्ना अनुभव सुनाउन मन छ । प्रमुख जिल्ला अधिकारीका अनुभव सुन्ने उत्कट इच्छा पनि । तर गुनासा सम्बोधन नभएसम्म राइझुमा मात्रै होइन उनको छायल पनि सायदै आउला ।

सबैभन्दा पहिले अछाम जिल्लामा विकासका भौतिक पूर्वाधारका क्षेत्रमा भएको अनियमितता उनलाई चित्त बुझेको छैन । त्योभन्दा बढी स्थानीय प्रशासन उदासीन हुँदा उनको चित्त दुखेको छ । सिडिओ अफिसको भूमिका नागरिता बनाउने र अनुगमन गर्नेमा मात्र सिमित भएकोमा उत्तिकै नरमाइलो पनि महसुस गरेकी । सिडिओ सापको गाडीका पैया गुड्ने मध्यपहाडी राजमार्गको गुणस्तर कमजोर काम कमसल हुँदा पनि स्थानीय प्रशासनको मौनता आफैमा अर्थपूर्ण छ । राइझुमा राष्ट्रिय महत्त्वको मध्य पहाडी राजमार्गको अछाम खण्डमा सिडिओको भूमिकाको खोजिमा छन् ।

मंगलसैन मात्र होइन मध्यपहाडी लोकमार्गलाई सेती लोकमार्ग जोड्ने चित्रेको निर्माणाधीन पुलको अवस्था हेर्दा उनको आँखा रसाउँछ । चौरपाटीका केराघारी पुग्ने सिडिओ साहबको ध्यान चित्रेसम्म नपुग्दा उनी चिन्तित पनि । निर्माण सुरु भएर पूरा नभएका केही भवनहरुले स्थानीय प्रशासनलाई गिज्याइ रहेका छन् । निर्माण सुरु भएको वर्षौसम्म पनि निर्माण सम्पन्न नभएर अलपत्र स्वास्थ्य संस्थाका भवन पूरा हुनुपर्नेमा राइझुमाको जोड छ । जिल्लामा सडक निर्माणका नाममा निरन्तर चलिरहेको डोजर आतंकले पनि हाम्री चेलीलाई विचलित बनाएको । यहाँ उल्लेख गरेका जस्तैः समस्या हल गर्नतर्फ स्थानीय प्रशासनको ध्यानाकर्षण नहुँदासम्म जति खोजे पनि राइझुमाले सिडिओलाई भेट्ने छैनन् ।

त्यसैले यो पंतिकारलाई पनि राइझुमाको कुरा खुब मनपरेको छ । सिडिओले राइझुमा मात्र खोज्ने होइन । राइझुमा हरुका दु:ख पनि महसुस गर्न आवस्यक देखिन्छ । गुणस्तरहीन काम गर्ने मध्यपहाडी लोकमार्गको ठेकेदारलाई खोजौं । कोरोनाको नाममा अनियमितता गर्नेलाई चिनाऔँ । यति मात्र होइन सेवाका नाममा अचाक्ली गर्ने सार्वजनिक यातायातको क्षेत्रलाई नियमन पनि गरौं सिडिओ साप । जिल्ला प्रशासन कार्यालयको काम नागरिकलाई लाईन लगायर अनुशिक्षण दिने मात्र होइन । सिडिओले नागरिकता वितरण गर्ने हो तर नागिरता मात्र वितरण गर्ने होइन होला । जिल्ला प्रशासन आमनागरिकको भाषा बोल्ने अड्डा बनोस् । आफ्ना कुरा मात्रै सुनाउने होइन राइझुमाले भनेझैं सिडिओ साहब प्रचारमुखी होइन परिणाम आउने काम गर्नु नै आजको टड्कारो आवश्यकता हो ।

Leave a Reply