अछाम जिल्लामा जनगणनाका लागि गणना कार्यालय स्थापना

अछाम जिल्लामा जनगणनाका लागि गणना कार्यालय स्थापना

सुशील भण्डारी  , अछाम :आउँदो २०७८ मा हुने जनगणनाको तयारीका लागि अछाममा जिल्ला गणना कार्यालय स्थापना गरिएको छ । राष्ट्रिय जनगणना, २०७८ का लागि अछाम  सदरमुकामस्थित सहकारी टोलमा मंगलवार जनगणना कार्यालय स्थापना गरिएको हो ।

विसं २०७८ सालमा हुने १२ औँ राष्ट्रिय जनगणनाको तयारीलाई तीव्रता दिन कार्यालय स्थापना गरिएको जिल्ला जनगणना अधिकारी प्रकाश बिष्टले जानकारी दिनुभयो ।  कार्यालयमा जनगणना अधिकारीसहित सात जनाको दरबन्दी रहेको छ ।
जिल्ला जनगणना कार्यालयको मातहतमा रहने गरि बैशाख १ देखि अछाम जिल्लामा चार वटा  स्थानीय  जनगणना कार्यालय स्थापना हुनेछ

कार्यालयले जनगणनाका लागि आवश्यक व्यवस्थापन र सञ्चालन गर्नेछ । कार्यालय स्थापनासँगै अब प्रदेश स्तरमा प्रशिक्षक तालिम, स्थानीय जनगणना अधिकारी तालिम सञ्चालन हुनेछ ।

जनगणनामा खटाइने सुपरिवेक्षक र गणकलाई प्रशिक्षण दिनका लागि प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण यही चैत ९ देखि १५ गतेसम्म धनगढीमा  सञ्चालन हुनेछ । सो प्रशिक्षक प्रशिक्षण तालिममा प्रशिक्षार्थीको रूपमा  अछामबाट  १४ जना सहभागी हुनेछन् । उनीहरुले जिल्लामा छनोट हुने सुपरिवेक्षक र गणकलाई तालिम दिनेछन् ।

जनगणनामा खटाइने आठ हजार सुपरिवेक्षक र ३९ हजार गणक भर्तीका निम्ति चैत ११ गतेसम्म अनलाइन आवेदन खुला गरिएको छ ।

अछामका लागि  सुपरिवेक्षक र गणक  सहित करिब  ४०० जना माग गरिएको छ ।

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी जेठ २५ गतेदेखि असार ८ गतेभित्र सम्पन्न हुने गरी जनगणना गर्न लागिएको छ । सुपरिवेक्षकले २०७८ वैशाख देखि  दुई महिनाका लागि र गणकले जेठ महिना बाट  एक महिनाका लागि नियुक्ति पाउनेछन् । नियुक्ति पश्चात सुपरिवेक्षकले तालिम लिएर वैशाख २६ देखि जेठ १४ गतेसम्म २० दिनको अवधिमा घर तथा घरपरिवारको सूचीकरण गर्ने र सो सूचीकरणका आधारमा गणकबाट जेठ २५ देखि असार ८ गतेसम्म १५ दिनको अवधिमा मूल गणनाको काम हुनेछ ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिने भएको छ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति तथा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहनेछ ।

जिल्लाको स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति हुनेछ । सो समितिमा सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बन्नेछ । त्यस्तै वडास्तरीय जनगणना सहजीकरण समिति रहने छ । यो समितिको संयोजकमा सम्बन्धित वडाका वडाअध्यक्ष रहनेछन् । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहनेछन् ।

Leave a Reply