अहंकार र घमण्ड गर्दा ओलीले के के गुमाए ?
काठमाडौं – एउटा आत्मकेन्द्रित मान्छेको ढिपीले कतिसम्म बिग्रिन सक्छ भन्ने ज्वलन्त उदाहरण हुन् एमाले अध्यक्ष केपी ओली ।
अहंकार र घमण्ड त्याग्न नसक्दा दुई तिहाइको सरकार गयो। ६ वटा प्रदेश सरकारमध्ये चारवटा गुमिसकेको छ । अब प्रदेश १ र बागमती सरकार बाँकी छ । त्यो पनि चाँडै गुम्दैछ ।
ओली शक्तिशाली कम्युनिस्ट पार्टीको १ नम्बरको नेता थिए, त्यो गुम्यो। एमाले नै एक छैन, आफ्नै पार्टी गयो।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै पार्टी एमालेका वरिष्ठ नेता माधव नेपाललाई नहेपेको भए, दम्भ, घमण्ड र अहंकार नपालेको भए, उनीहरूसँग सहकार्य र मित्रता कायम राखेको भए सिंगो नेकपाको अध्यक्ष, मुलुकको शक्तिशाली प्रधानमन्त्री केपी ओली नै रहिरहन्थे । न दुई दुईपटक प्रतिनिधिसभा विघटन गर्नुपर्थ्यो, न रास्ट्रपतिको गरिमा सकिन्थ्यो । न प्रतिगामीको बिल्ला भिर्नुपर्थ्यो । न लुम्बिनी र गण्डकीको मुख्यमन्त्री, न त प्रदेश प्रमुख जान्थ्यो ।
बुधबार एकैदिन ओलीलाई चारवटा झट्का लाग्यो । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले पद गुमाए । जो ओलीका निकै विश्वास पात्र थिए । बुधबार नै ओलीले नियुक्त गरेका रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिए । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङ आए । ओलीले नियुक्त गरेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य हटाइए । उनले गरेका धेरै राजनीतिक नियुक्ति धरापमा पर्दैछ ।
तर, सबैभन्दा महत्वपूर्ण विषय भनेको ओलीले राजनीतिक कद निकै घटाएका छन् । पार्टीमा अब उनी सर्वसम्मत नेता रहन सकेनन् । आफ्नै पार्टी दुई चिरा बनाएको आरोप उनीमाथि लागेको छ । सबै कुरा गयो, तर उनमा ढिपी र अहम् अझै गएको छैन ।