ओली सुध्रिए भने चुनावमा तालमेल गरौंला : माधव नेपाल
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ट नेता माधवकुमार नेपालले अब नयाँ पार्टी गठन गर्नुपर्ने बाध्यता आइसकेको बताएका छन् । मंगलबार आन्तरिक बैठकलाई सम्बोधन गर्दै नेपालले केपी शर्मा ओलीका कारण एकता सम्भावना सकिएको घोषणा गरेका हुन्।
आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूसहित १४ सांसदलाई निष्कासनको पत्र पठाएपछि एकताका लागि अन्तिम प्रयास गर्छु भन्ने घनश्याम भुसालको प्रयास पनि असफल भएको बताए ।
नेपालले भने, ‘अब पार्टीको क्रान्तिकारी पुनर्गठन गर्छौ र नेपाल कम्युनिष्ट पार्टीलाई क्रान्तिकारीकरण गर्छौं । अहिले नयाँ दल दर्ता गरे पनि हामी तत्कालै अरु पार्टीसँग एकीकरण गर्दैनौं । ओली सुध्रिए भने त्यसपछि पनि एकता हुन सक्छ र चुनावमा सिट बाँडेर लड्न सकिन्छ ।’