मंगलसेन नगरको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

मंगलसेन नगरको आर्थिक वर्ष २०७७।०७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

अछाम : मंगलसेन नगरपालिकाको गत आर्थिक वर्ष २०७७।०७८ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । बिहिबारबाट सुरु भएको समिक्षा कार्यक्रम सबै वडा र शाखागत कामकार्यको समिक्षा गर्दै शुक्रबार सम्पन्न भएको हो ।

नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा नगरपालिकामा गत आर्थिक वर्ष २०७७।०७८ मा भए गरेका सम्पूर्ण कामकार्यहरुको बिस्तृत रुपमा छलफल गरिएको थियो । नगरपालिका, सबै विषयगत शाखा र वडा कार्यालयहरुको वार्षिक प्रगती प्रतिवेदन माथि सहभागी जनप्रतिनिधि र सरोकारवालाहरुले राय, सुझाव पेश गरेका थिए भने समिक्षामा आएका सुझावलाइ प्रगती प्रतिवेदनमा समेटेर अझ परिस्कृत गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

कार्यक्रममा नगरप्रमुख पदमबहादुर बोहराले समग्र नगरको हितलाइ मध्यनजर गर्दै कार्यसम्पादनलाइ प्रभावकारी बनाउँन आग्रह गरे । नगरपालिकाले गरेका भौतिक विकास, सामाजिक विकास र संस्थागत विकासका सबै कार्यहरुलाइ प्रगती प्रतिवेदनका रुपमा अभिलेखीकरण गरिनु सराहनिय कार्य भएको उनको भनाइ थियो ।

समिक्षामा नगरपालिकाको गत आर्थिक वर्षमा वित्तीय प्रगती ८६ दशमलव ३४ र पुजिगत प्रगती ८६ दशमलव ५७ प्रतिशत गरि कुल ८६ दशमलव ४१ % प्रगती भएको निचोड निकालिएको छ । बिगतका आर्थिक वर्षहरुको तुलनामा गत आर्थिक वर्षमा बित्तीय र भौतीक प्रगती राम्रो रहेको जनाईएको छ ।

समिक्षा कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको नगरप्रमुख बोहरा सहित उपप्रमुख सरिता उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, लेखा अधिकृत बिष्णु प्रसाद उपाध्याय लगायत सम्वन्धित शाखा प्रमुखहरुले प्रष्ट पारेका थिए।

२ दिनसम्म चलेको समिक्षा कार्यक्रममा सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख र कर्मचारीहरुको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रमको सहजिकरण प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गर्नुभएको एम आइ एस अपरेटर होम साउदले जानकारी दिए ।

Leave a Reply