राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचिकरण कार्य शुरू

राष्ट्रिय जनगणनाको घर तथा घरपरिवार सूचिकरण कार्य शुरू

‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत घर तथा घरपरिवार सूचिकरण कार्य आज देखि देशैभर एकैसाथ शुरू भएको छ । जिल्ला जनगणना कार्यालय अछामले पनि राष्ट्रिय जनगणना २०७८ को परिमार्जित कार्यतालिका अनुसारै आज भाद्र ३० देखि सुपरिवेक्षकलार्इ घर तथा परिवार सूचिकरण कार्यमा खटाएको हो ।
जिल्ला जनगणना कार्यालय प्रमुख प्रकाश बिष्टका अनुसार दुई चरणमा सम्पन्न हुने राष्ट्रिय जनगणनाको पहिलो चरण अन्तर्गत घर तथा घरपरिवार सूचिकरण कार्य २०७८ भाद्र ३० देखि शुरू भइ असोज १८ गते सम्म सम्पन्न हुनेछ । घरपरिवार सूचिकरण कार्यका लागि अछाम जिल्लाका १० वटा पालिकामा ८२ जना सूपरिवेक्षक खटिदैं छन् । भाद्र ३० देखि असोज १८ सम्म २० दिनको अवधिमा सूपरिवेक्षकहरुले हरेक घरदैलोमा पुगी घर तथा घरपरिवारको सूचीकरण कार्य गर्नेछन् ।
घर तथा घरपरिवार सूचिकरणका लागि साँफेबगर नगरपालिका ११ जना, मंगलसेन नगरपालिका ११ जना, पञ्चदेवल विनायक ८ जना, कमलबजार ८ जना, चौरपाटी गाउँपालिका ८ जना, मेल्लेख ८ जना, रामारोशन ८ जना, तुर्माखाद ८ जना, ढकारी ६ जना र बान्नीगढी जयगढमा ६ जना सुपरिवेक्षकहरु हरेक वडामा एकैसाथ खटिने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै दोश्रो चरणको कार्यक्रम कात्तिक २५ देखि मंसिर ९ सम्म संचालन हुनेछ । १५ दिनको सो अवधिमा सुपरिवेक्षकले गरेको सूचिकरणका आधारमा गणकले मुल गणनाको काम गर्नेछन्। मुल गणनामा खटिने गणकको नियुक्ति तथा तालिम दिने कार्य कार्तिक महिना हुनेछन् ।
यसअघि २०७८ जेठ २५ देखि असार ८ भित्र सम्पन्न हुने गरी शुरू भएको जनगणना कोराना सङ्क्रमण बढ्दै गएपछि बैशाख २० गते देखि स्थगित गरिएको थियो। नेपाल सरकार मन्त्रिपरिषद्को भाद्र २१ को निर्णय पछि भदौ ३० देखि मंसिर ९ भित्र सम्पन्न हुने गरी १२ औं राष्ट्रिय जनगणना २०७८ गर्न लागिएको छ ।

Leave a Reply