सभापति मल्लको नेतृत्वमा डडेल्धुरा कांग्रेसका नेता–कार्यकर्ताले थाले सानेपामा अनशन

सभापति मल्लको नेतृत्वमा डडेल्धुरा कांग्रेसका नेता–कार्यकर्ताले थाले सानेपामा अनशन

डडेल्धुरा: नेपाली कांग्रेस डडेल्धुराका नेता तथा कार्यकर्ताले काठमाडौंको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा रिले अनशन सुरु गरेका छन्।

कांग्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्लसहितको समूहले सानेपामा बुधबारदेखि रिले अनशन सुरु गरेको हो।

चारबुँदे मागसहित आफूहरू रिले अनशनमा बसेको जिल्ला सभापति मल्लले जानकारी दिए। मल्ल समूहका नेता कार्यकर्ता अनशन बस्न बुधबार राजधानी पुगेका थिए। पुगेलगत्तै धर्ना दिएर दिउँसो ३ बजेबाट रिले अनशन सुरु गरेको मल्लले बताए।

हटाइएका क्रियाशील सदस्यता कायम गर्नुपर्ने, अवैधानिक ढंगले थपिएका क्रियाशील सदस्यता खारेज गर्नुपर्ने, कथित अवैधानिक वडा तथा पालिका अधिवेशन बदर गर्नुपर्ने र वैधानिक रूपमा वडा तथा पालिका अधिवेशनको मिति तय गर्नुपर्नेलगायत मागहरू आफूहरूले अघि सारेको सभापति मल्लले जानकारी दिए।

कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा गएर न्याय माग्न नेता तथा कार्यकर्ताको टोली बसमार्फत् मंगलबार काठमाडौं प्रस्थान गरेको थियो।

जिल्ला कार्य समितिको ६३औं तथा विशेष बैठकबाट सिफारिस भएका क्रियाशील सदस्यतामा व्यापक हेरफेर गरेर एकलौटी रुपमा गरिएका वडा तथा पालिका अधिवेशनको खारेजीको माग गर्दै केन्द्रीय पार्टी कार्यालयमा अनशन बसेको सभापति मल्लले बताए।

वडा अधिवेशनपूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सभापति, केन्द्रीय निर्वाचन समितिलाई दिइएको निवेदन तथा उजुरीमाथि ५४ दिनसम्म पनि कुनै सुनुवाई नगरिएको र उल्टै बाँकी रहेका अधिवेशन सम्पन्न गर्न सभापति देउवा नै उद्दत रहेको उनको आरोप छ।

जिल्ला सभापति मल्लसहित अनशनमा नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका-१२ का पूर्वसभापति राजबहादुर भण्डारीलगायत सहभागी छन्।

यस्तै, जिल्ला नेताहरू भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्ट र नवदुर्गा-४ का पूर्ववडा सभापति रमेश ऐरलगायत पनि रिले अनशन बसेका छन्।

क्रियाशील सदस्यता विवाद कायमै रहेको तथा वडा र पालिका अधिवेशन अवैधानिक भएको ठहर गर्दै जिल्ला सभापति मल्लपक्षले विरोध गर्दै आइरहेको छ।

डडेल्धुरामा निर्वाचन अधिकृत तोकिएका लोकेन्द्रबहादुर बमले भदौ २५ गते कांग्रेसको वडा र असोज ९ गते पालिका अधिवेशन गराएका थिए।यसअघि पनि जिल्ला सभापति मल्ल समूह डडेल्धुरा स्थित पार्टी कार्यालयमा ११ दिनसम्म रिले अनशन बसेको थियो।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, डा.शेखर कोइराला र गुरुराज घिमिरेले डडेल्धुरा पुगेरै माग सम्बोधन गर्न पहल गर्ने जनाएपछि त्यतिबेला कांग्रेस डडेल्धुराले अनशन स्थगित गरेको थियो।

जिल्लाले पठाएका क्रियाशील सदस्यहरूमध्ये ४ सय ६० जनालाई बिनाकारण हटाइएको र समायोजन भएका सय जनासहित ४ सय १२ नयाँ सदस्य एकपक्षीय रूपमा थप गरिएको मल्ल पक्षको दाबी छ।

भदौ २५ गते गरिएको एकलौटी वडा अधिवेशनप्रति असहमति राख्दै प्रक्रियाको प्रमाणसहित ९२ पानाको अवैधानिक अधिवेशनका कागजातहरु जिल्ला कार्य समितिको बहुमत निर्णयबाट केन्द्रीय कार्य समितिलाई भदौ ३१ नै बुझाइसकेको सभापति मल्लले बताए।

डडेल्धुरा कांग्रेसमा दुई गुट सक्रिय छन्। जिल्ला सभापति मल्ल र केन्द्रीय सभापति देउवाको गुट छ। सभापति देउवाको गुटमा पूर्वजिल्ला सभापति रघुवर भट्ट, गोविन्द बोहरा र भीमबहादुर साउदलगायतका नेताहरू छन्।

Leave a Reply