राप्रपा महाधिवेशनको कार्यतालिका प्रभावित

राप्रपा महाधिवेशनको कार्यतालिका प्रभावित

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ। महाधिवेशन प्रतिनिधिको विवाद समयमै टुंगिन नसक्दा महाधिवेशनको कार्यतालिका प्रभावित भएको हो ।

अध्यक्ष कमल थापा र अध्यक्षमा उम्मेदवारी दिएका राजेन्द्र लिङ्देन पक्षबीच महाधिवेशन प्रतिनिधिलाई लिएर दुई दिनदेखि विवाद छ। बुधबार राप्रपा महाधिवेशन उद्घाटन भएको थियो। उद्घाटनको कार्यक्रम अगाडि नै मतदाता नामावली प्रकाशनको टुंगो लगाइने भनिएको थियो। तर, दुबै पक्षको विवाद नटुंगिँदा बुधबार रातिसम्म पनि मतदाता नामावलीको टुंगो लागेन।

जिल्लाबाट आएको महाधिवेशन प्रतिनिधिको सूची अध्यक्ष थापाको निर्देशनमा हेरफेर गरेको आरोप लिङ्देन पक्षका नेताले लगाइरहेका छन्। त्यो विवाद मिलाउन दुई दिनदेखि दुबै पक्षले छलफल गरिरहेका छन्।

राप्रपाले ३३० प्रदेश सभा स्थानीय तहबाट महाधिवेशन प्रतिनिधि चुनेर ल्याएको छ। महिला, दलित, अल्पसंख्यकलगायत हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा समेट्नुपर्ने थियो। तर कतै दलित र कतै अल्पसंख्यकका प्रतिनिधि खाली थिए। लिङ्देन पक्षका नेताले जिल्लाबाट खाली आएका प्रतिनिधिमा थापा पक्षले आफूखुसी नाम थपेको आरोप लगाएका छन्।

Leave a Reply