अछामको विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन
अछाम ,७ असोज : जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ । चाडपर्वका बेला यात्रुहरुलाई हैरानी हुन सक्ने भन्दै यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामले जनाएको छ ।
मंगलसेन बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डांगिले नजिकिदै गरेको हिन्दु हरुको महान चाड बडा दशै तथा शुभ दिपावली एवं छठ पर्व २०७९ को अवसरमा यातायात आवतजावत तथा सवारी साधनको चाप बढ्दै जाने हुँदा बसपार्क क्षेत्र भित्र भिड्भाड हुने यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र यात्रुहरूको पिरमर्का तत्काल सुनुवाइ गरि समस्या समाधान गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको बताउनुभयो ।
चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्नका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याईएको हो ।
दशैंका लागि भनेर भारतबाट रोजागरी गरेर फर्केका नागरिकहरु समस्यामा पर्ने भएकाले उनीहरुलाई लक्षित गरेर यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको प्रहरी नायब उपरीक्षक डांगिले बताउनुभयो ।
चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ । कुनै पनि यात्रुले समस्या भोग्नुपरेमा सहायता कक्षमा सम्पर्क राख्न सक्छन । मंगलसेन लगायत जिल्लाको साफेबगर,चौखुट्टे,बिनायक,कमलबजार,जयगढ र बेलखेत गरि ७ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।