मेघराज खड्का – सुदूरपश्चिममा सर्वाधिक मतान्तरमा विजयी हुने नेता
अछाम — सुदूरपश्चिमका ३२ प्रदेश निर्वाचन क्षेत्रबाट विजयी नवनिर्वाचित सांसदमध्ये अछाम निर्वाचन क्षेत्र नम्बर १ (१) बाट मेघराज खड्का सर्वाधिक मतान्तरमा विजयी भएका छन् । कांग्रेस उम्मेदवार खड्काले अछाम १ (१) बाट निकटम प्रतिस्पर्धीभन्दा ५ हजार ८४० बढी मत ल्याएका हुन् ।कांग्रेस प्रदेश महामन्त्रीसमेतरहेका खड्काले १२ हजार ३३७ मत ल्याए । उनलाई पछ्याएका एमाले उम्मेदवार देवबहादुर कुँवरले ६ हजार ४९७ मत पाए ।
नवनिर्वाचितमध्ये सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार भने बाजुरा (२) का कांग्रेस उम्मेदवार पदमबहादुर शाही हन् । उनले सबैभन्दा धेरै १७ हजार ५२१ मत पाएका छन् । खड्कापछि बढि मतान्तरमा विजयी हुने दोस्रो सांसद हुन्, कञ्चनपुर १ (२) बाट नवनिर्वाचित कांग्रेस उम्मेदवार बेलबहादुर राना मगर । उनी ५ हजार ६१७ मतान्तरमा चुनाव जितेका छन् । राना मगरले १६ हजार १७२ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी रहेका एमाले उम्मेदवार सुरेन्द्रबहादुर विष्टले १० हजार ५५५ मत पाएका छन् ।
४ हजार बढी मतान्तरमा विजयी हुने अन्य उम्मेदवारहरूमा कैलाली १ (१) बाट विजयी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी र कैलाली ४ (१) बाट एकीकृत समाजवादीका उम्मेदवार रहेका दीर्घबहादुर सोडारी छन् । नागरिक उन्मुक्तिका कैलाश चौधरीले माओवादी केन्द्रका उम्मेदवार दिर्घराज बिनाडीलाई ४ हजार ७२४ मतान्तरले पराजित गरेका हुन् । यस्तै बहालवाला भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका सोडारीले एमाले उम्मेदवार भीमबहादुर देउवालाई ४ हजार ६६ मतान्तरले पराजित गरे । ३२ मध्ये तीन जना ३ हजार बढि मतान्तरमा विजयी भएका छन् । ८ जनाले २ हजार बढी मतान्तरमा चुनाव जितेका छन् ।
यही निर्वाचनमा सर्वाधिक कम मतान्तरमा पराजित हुनेमा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (१) बाट उम्मेदवार रहेका नेपालु चौधरी हुन् । उनी आफ्ना प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार रमेश धामीसँग १२५ मतले पराजित हुन पुगे । माओवादी केन्द्रका धामीले ९ हजार ३८७ मत पाएका थिए भने चौधरीले ९ हजार २६२ मत पाए । निवर्तमान सांसदसमेत रहेका पराजित एमाले उम्मेदवार चौधरी पहिलो प्रदेशसभामा विधायन तथा प्रदेश मामिला समितिमा पाँचवर्षे कार्यकालसम्म नेतृत्व गर्दै सभापति थिए ।
प्रदेशसभाका चार उम्मेदवारले ५ सयभन्दा कमको मतान्तरमा पराजय व्यहोर्नुपर्यो । बहालवाला सामाजिक विकासमन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार गोविन्दराज बोहरा स्वतन्त्र उम्मेदवार तारा जोशीसँग ४२५
मतले पराजित हुन पुगे । विजयी उम्मेदवार जोशीले ११ हजार १६२ मत प्राप्त गरेका थिए । पराजित बोहराले १० हजार ७३७ मत पाएका थिए । ५ सयभन्दा कम मतान्तरमा पराजित हुने अन्य उम्मेदवारहरूमा बैतडीका लिलाधर भट्ट, डोटीका नरेन्द्रबहादुर सिंह र कञ्चनपुरमा बच्चनबहादुर सिंह छन् ।
बैतडी (१) बाट एमाले उम्मेदवार रहेका निवर्तमान सांसद लिलाधर भट्ट ४३७ मतले कांग्रेसका शिवराज भट्टसँग पराजित भए । विजेता रहेका कांग्रेस उम्मेदवारले १७ हजार १५३ मत ल्याउदा पराजित एमाले उम्मेदवारले १६ हजार ७१६ मत ल्याए । डोटी (१) बाट कांग्रेस उम्मेदवार नरेन्द्रबहादुर सिंह एमालेका चक्रबहादुर सिंहसंँग ४५० मतले पराजित भएका थिए । मल्लले १५ हजार २७९ मत पाउँदा सिंहले १४ हजार ८२९ मत पाएका थिए । यस्तै, ५ सयभन्दा कम मतान्तरमा पराजित हुने अर्का उम्मेदवार कञ्चनपुर २ (१) बाट एमालेका बच्चनबहादुर सिंह हुन् । उनी माओवादी केन्द्रका उम्मेदवार ओमबिक्रम भाटसंग ४७३ मतले पराजित भएका थिए । भाटले १० हजार ९३८ र सिंहले १० हजार ४६५ मत पाए ।
यसैबीच, यसपल्टको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीको गठबन्धन थियो । तर भागबन्डामा कुरा नमिलेपछि एकीकृत समाजवादीले यस प्रदेशका तीनवटा निर्वाचन क्षेत्रमा गठबन्धनका साझेदार दलका उम्मेदवारसँग आपसमै प्रतिस्पर्धा गरेको थियो । कञ्चनपुर ३ (१) मा प्रकाशबहादुर रावल, बाजुरा (१) मा नरेशकुमार शाही र कञ्चनपुर २ (२) मा लालबहादुर खड्का प्रतिस्पर्धा गरेका थिए । तीमध्ये कञ्चनपुरमा रावल र बाजुरामा शाहीले जित हासिल गरे भने खड्का पराजित भए । माओवादीका टेकेन्द्रप्रसाद भट्टले कञ्चनपुर ३ (१) गठबन्धनबाट टिकट पाएका थिए । तर उनी निकटम प्रतिस्पर्धीसमेत हुन सकेनन् । – ईकान्तिपुर