शेखर समूहले आफ्नो पक्षलाई सम्मानजनक सहभागी नगराए मन्त्रीको नामावली नदिने बताएको छ । आज बिहान शेखर समूहको बैठकले सम्मानजनक सहभागिता नभएसम्म मन्त्रीको नाम नदिने निर्णय गरेको हो। पार्टीका सहमहामन्त्री जीवन परीयारले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति देउवालाई पठाएको अन्नपूर्णलाई जानकारी दिए । परियारले भने,‘सम्मानजनक सहभागिता नपाए हामी सरकारमा जाँदैनौं । सरकार बाहिरै बस्छौं ।’
छलफलमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापा,सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी थिए ।
प्रधानमन्त्रीले केही नयाँ मन्त्री थपेर आज मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा छन्। त्यसका लागि प्रधानमन्त्री प्रचण्डले दिउँसो १ बजेभित्र सत्ता गठबन्धनका सबै दललाई मन्त्रीको नाम मागेका छन्।
सत्ता गठबन्धन दलभित्र कसले कति मन्त्रालय पाउनेबारे समझदारी भएको छ। जसमा कांग्रेसले ८, माओवादीले ५,जसपा र नेकपा एकीकृत समाजवादीले २-२ र जनमत, लोसपा, नेसपा, नागरिक उन्मुक्ति र आम जनता पार्टीले एक-एक मन्त्रालय दिने सहमति भएको छ।
आजै मन्त्रिपरिषद विस्तार हुने भएपछि राष्ट्रपति कार्यालयले दिउँसो ३ बजे नयाँ मन्त्रीका लागि शपथको समय तोकेको छ।