अछाम प्रशासन द्वारा बजार अनुगमन तिब्र, उपभोक्तालाई सचेत रहन प्रशासकीय अधिकृत आचार्यको आग्रह
जिल्ला प्रशासन कार्यालय अछामले बजार अनुगमन लाई तिब्रता दिएको छ । मंगलबार बयालपाटा बजार क्षेत्रको अनुगमन गरेको छ । प्रशासन कार्यालय अछाम र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलिले साँफेबगर नगरपालिका वडा नम्बर ८ स्थित बयालपाटा बजार क्षेत्रमा अनुगमन गरेको हो ।
अनुगमन गरिएका अधिकांश पसलमा मूल्य सूचि टाँस नगरेको, साइन बोर्ड नराखेको, पसलको अगाडी अत्याधिक फोहोरमैला भएको, म्याद गुज्रेको सामान भेटिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मीनराज आचार्यले बताउनुभयो । यस्ता ब्यवसायीहरुलाई तत्काल सुधार गर्न प्रतिवद्धता गराई सुझाव दिईएको प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो ।
चिउरा, नम्कीन, चाउमीन मसला, सश, चकलेट, चिसो, सोयाबिन लगायत म्याद गुज्रेको खाद्यान्न सामाग्री बरामद गरिएको हो । किराना पसलमा भेटेनरीको २० प्याकेट औंषधी समेत भेटिएको थियो । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्य बस्तुको विक्री वितरण बढी हुने गरेको पाईएको अधिकृत आचार्यले बताउनुभयो ।
अनुगमनको क्रममा उपभोक्ता हरुलाइ पसलबाट प्याकिङ गरिएका खाद्य वस्तु खरिद गर्दा म्याद हेर्न नछुटाउने र म्याद गुज्रिएका बस्तुको प्रयोग नगर्न नगराउन आग्रह गर्नुभयो।