मर्यादित श्रमको वातावरण सिर्जना गर्नुपर्छ : राष्ट्रपति पौडेल
१८ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मर्यादित श्रमको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन् ।
श्रमिक दिवसको शुभकामना दिंदै उनले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा उनले जोड दिएका हुन् ।
राष्ट्रपति पौडेलले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन दिवसले प्रेरणा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
शुभकामना शन्देशमा उनले मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुने बताएका छन् ।