प्रस्तावित शिक्षा ऐन विरुद्ध अछाममा शिक्षकहरूको धर्ना
टंक प्रसाद रिमाल : विद्यालय शिक्षा विधेयक २०८० का केही व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार मंगलबार अछामको शिक्षा बिकास तथा समन्वय इकाईमा शिक्षकहरूले धर्ना दिएका छन् ।
शिक्षक महासंघले यस अघि नै पत्रकार सम्मेलन गरी २० बुँदे माग राख्दै प्रस्तावित विद्यालय शिक्षा ऐन विरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। विद्यालय शिक्षाको अधिकार संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा राखेर त्यसैअनुसार विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने भन्दै नेपाल शिक्षक महासंघले विभिन्न चरणका आन्दोलन घोषणा गरेको हो।
आन्दोलनको कार्यक्रम अन्तर्गत २८ गते अछामका १० वटै पालिकाको कार्यालयमा शिक्षकहरुले ज्ञापनपत्र पेश गर्दै धर्ना दिएका थिए । दोश्रो चरणको कार्यक्रम अनुसार मंगलबार पनि शिक्षा बिकास तथा समन्वय इकाई मंगलसेनमा बिहान ११ बजे देखि विभिन्न कार्यक्रम गरि धर्ना दिएका हुन। धर्ना कार्यक्रममा अछामका १० वटै पालिका बाट स्थायी, अस्थायी, राहत, निजी लगायतका सबै शिक्षकहरूको सहभागिता रहेको थियो।
शिक्षक महासंघले शिक्षक स्थायित्वको विषयमा दुई दशकदेखि विद्यालयमा कार्यरत राहत र साविक उमावि शिक्षकलाई अस्थायी शिक्षकको जस्तै आन्तरिक/खुला विधिबाट शिक्षक सेवा आयोग मार्फत स्थायी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षाको प्रबन्ध हुनुपर्ने वा सबै दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सामान्य प्रक्रियाद्वारा शिक्षक सेवा मार्फत स्थायी गरिनुपर्ने, पारिश्रमिकको विषयमा प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षकहरू तथा विद्यालय कर्मचारीको दरबन्दी तथा उचित तलबको व्यवस्था, बालशिक्षालाई ऐन मार्फत विद्यालय संरचनाभित्र ल्याइनुपर्ने, अस्थायी अवधिक गणना तथा निवृत्तीभरणका विषयमा लामो समय अस्थायी काम गरेकालाई पनि अवधि गणना गरेर पेन्सनको व्यवस्था गरिनुपर्ने लगायतका माग राखेको छ। धर्ना कार्यक्रमलाई नेपाल शिक्षक संघ का पुर्ब केन्द्रिय सदस्य मदन कुवर, नेपाल रास्टिय शिक्षक संगठनका केन्द्रिय सदस्य नर बहादुर रावल, शिक्षक महासंघका जिल्ला अध्यक्ष युवराज शर्मा,शिक्षक संघका जिल्ला अध्यक्ष नबिन्द्र राज जोशि, अखिल शिक्षक संगठन जिल्ला अध्यक्ष हरि रावल, नेपाल राष्ट्रिय शिक्षक संगठनका सचिब कृष्ण बि•क राहत शिक्षक संघका केन्द्रीय सचिब सरदा चलाउने, बालबिकास अध्यक्ष सरस्वती ढुंगानाले सम्बोधन गरेको कार्यक्रमको संचालन शिक्षक महासंघका जिल्ला सचिब हर्क बिष्टले गर्नु भएको थियो।
आन्दोलनको कार्यक्रम अन्तर्गत महासंघले मंगलबार देशभरका जिल्ला शिक्षा समन्वय इकाईमा तीन घन्टा धर्ना दिएका छन भने बिहीबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा तीन घण्टा धर्ना दिने, भदौ १ गते प्रदेश तथा संघीय सांसदलाई शिक्षक तथा विद्यालय कर्मचारीको पक्षमा बोलिदिन आग्रह गर्ने, विधेयक संसदमा दर्ता भएको पाँचौ दिनबाट देशभरका शिक्षक कर्मचारी उपस्थित गराई काठमाडौंमा बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।