अछाममा ११ महिना नपुग्दै ४ सिडियो फेरिए

अछाममा ११ महिना नपुग्दै ४ सिडियो फेरिए

सुशील भण्डारी ,अछाम :अछाम जिल्लामा महिनैपिच्छे प्रमुख जिल्ला अधिकारी बदिलिने     गरेकाछन । ११ महिनाको अवधिमा ४ जना सिडियो फेरिएकाछन। २०७९ असोज १० गतेदेखी २०८० साउनसम्म ४ जना सिडियो  फेरिएका हुन् । २०७९ असोज १० गते प्रमुख जिल्ला अधिकारीको रुपमा रामदत्त पाण्डे अछाम आउनुभयो ।  अछाम आएको ४ महिना २०७९ माघ १० गते पाण्डेको गृहमन्त्रालय सरुवा भयो । २०७९ माघ १५ गते लक्ष्मण ढकालले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभयो । करीब ४ महिना २०८० जेठ ५ गते ढकालको गृहमन्त्रालय सरुवा भएपछि २०८० जेठ ७ गते सहसचिव शिवराम न्यौपानेले प्रमुख जिल्लाको जिम्मेवारी सम्हाले । प्रजिअको जिम्मेवारी सम्हालेको तिन महिना नपुग्दै न्यौपाने सरुवा भएर २०८० साउन ३० गते गृहमन्त्रालय जानुभयो ।  मोरङका सहायक प्रजिअ शरद कुमार पोखरेलको अछाम सरुवा भएपछि पोखरेलले साउन ३१ गतेबाट अछाममा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नुभएको छ ।

जिल्लामा सरुवा भएर आइसकेपछि सिडियो हरुले आफ्नो अवधि १ वर्ष भरी जिल्ला बस्छु भन्दै अछामी जनतालाई आश्वस्त मात्रै पार्ने गरेकाछन। दुई /तीन महिनामै जिल्ला बाट सरुवा भएर जाने प्रवृत्तिले अछामका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय बाट प्राप्त गर्ने विभिन्न सेवामा समस्या झेल्दै आएकाछन । जिल्लामा  महिनैपिच्छे सिडियो फेरिनु गम्भीर विषय हो  । यस बारेमा सरोकारवाला निकायको ध्यानाकर्षण हुन आवश्यक छ ।

सहसचिवको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय अछाममा बेला बेलामा  कर्मचारीको  अभाव हुने गरेको छ । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन बनेको लामो समय भईसकेको छ । जिल्ला प्रशासन कार्यालयमा अछाममा दरबन्दी बमोजिम सहायक प्रमुख जिल्ला अधिकारी बिगत देखि अहिलेसम्म पनि कार्यरत छैनन् भने  बिगत तीन महिना देखी प्रशासकिय अधिकृत समेत नहुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दुई वटा प्रशासकीय अधिकृतको दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय अछाममा जेठ १ गते प्रशासकीय अधिकृत मिनराज आचार्यको सरुवा भएपछि आचार्य जेठ २८ गते आफ्नो सरुवा भएको ठाउँ त्रिभुवन बिमानस्थल अध्यागमन कार्यालय काठमाडौं जानुभयो । काजको रूपमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा जेठ २८ गते देखि असार ८ गतेसम्म कामकाज गरेर अछाम प्रशासन बाट फर्किनु भयो । त्यसपछि जिल्ला प्रशासन कार्यालय बाजुराका प्रशासकीय अधिकृत रामकुमार तिमिल्सेना असार १० गते बाट साउन १ गतेसम्म कामकाज गरेर बाजुरा फर्के पछि डोटी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्याय साउन ३ गते देखि काजको रूपमा जिल्ला प्रशासन कार्यालयमा काम गरेर साउन ३२ गते जिल्ला प्रशासन कार्यालय डोटी फर्किनुभएको छ ।  कार्यालयमा २२ जना कर्मचारीको दरबन्दी मध्ये १० जना कर्मचारी रिक्त छन् । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुइजना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृत बिहिन हुन पुगेका छन् । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा १ जना मात्रै छन् भने ३ जना खरिदारको दरबन्दीमा २ जना र  २ जना  कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा  कर्मचारी काम गरिरहेका छन् । यो भन्दा पहिले कार्यरत दुई जना प्रशासकीय अधिकृत मध्ये एक दिपेश रिजालको २०७९ माघ ४ गते र मिनराज आचार्यको जेठ १ गते सरुवा भएको थियो । सरुवा पश्चात् उनिहरु सम्बन्धि कार्यालयमा गइसकेकाछन ।
जिल्ला प्रशासन अछाममा सरुवा भएका प्रशासकिय अधिकृत       सिंहदरबार बाटै हराए
२०८० असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत  राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत  भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका छन् । गृहमन्त्रालयले प्रशासकीय अधिकृत द्धय भण्डारी र शर्मालाई  जिल्ला प्रशासन कार्यालय अछाम सरुवा गरेपछि उनिहरु पहुँचको भरमा सिंहदरवार बाट दुर्गम जिल्ला आउन मानेनन् ।पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा  मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न । शक्तिको आडमा लामो समयसम्म उपत्यकाभित्रका कार्यालयमा अखडा जमाएर बसेका कर्मचारीलाई मोफसलमा सरुवा गरिएपछि थमौती गर्न सिंहदरबारमा कर्मचारीको भिड लाग्ने गरेको छ । वर्षौसम्म उपत्यकाभित्र टिक्न सफल भएका कर्मचारीको भिड यति बेला सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा देखिने गरेको पाईन्छ । सरुवा भएको ठाउँमा नआईदिदा त्यस क्षेत्रका नागरिकहरुले आफुले प्राप्त गर्ने सेवा सुविधामा समस्या हुदै आएको छ ।
अहिले जिल्ला प्रशासन कार्यालय अछाममा कर्मचारी अभावले दैनिक कामकाजमा समस्या हुँदै आएको प्रमुख जिल्ला अधिकारीे शरद कुमार पोखरेलले बताउनुभयो ।

Leave a Reply