सर्वगुण सम्पन्न अछामको पहिचान नौमुठे गाई
रामचन्द्र जोशी चौरपाटी गाउपालिका-५लुंग्रा,अछाम
गाईलाई हिन्दुहरुको पहिचान, प्रतिष्ठा र सभ्यताको द्योतकका रूपमा लिइन्छ । नेपालको राष्ट्रिय जनावर गाई हो । संसारको सबै भन्दा पुरानो प्रजाती गाईलाई मानिन्छ । प्राचीन समय देखि नै धर्म शास्त्रहरुमा गाईको धार्मिक महत्व वर्णन गरिएको पाइन्छ । गावो विश्वस्य मातरः अर्थात गाईलाई गौ माता एवं लक्ष्मीको प्रतिकका रुपमा चिनिन्छ । धार्मिक, आर्थिक तथा औषधीय दृष्टिले गाई महत्पपूर्ण प्राणी हो । नेपालमा गाईका मुख्य ९ वटा प्रजाती मध्ये ७ प्रजातीका गाई घरमा पालिन्छन भने गौरीगाई र नीलगाई गरी दुई प्रजातीका गाई जंगलमा पाईन्छन । ती मध्ये गौरी गाई सबै भन्दा ठुलो प्रजाती हो भने नौमुठे गाई सबै भन्दा सानो प्रजाती हो । कालो वर्ण,सानो शरीरधारी नौ मुठेगाई मानिसको हातको मुठीले खुर देखि जुरो सम्म नाप्दा करीब नौ मुठी हुने भएकाले यसलाई नौमुठे गाई भनिएको हो । यसको उत्पति स्थल अछाम जिल्लामा भएको मानिन्छ । भगवान गोरक्षनाथले गौ संरक्षणको क्रममा अछामको देवीथुममा आइ सप्तऋषिहरुलाई पवित्र धार्मिक स्थल द्वादश ज्योतिर्लिङ्ग मध्येको बैद्यनाथ क्षेत्रमा नौमुठे गाईलाई संरक्षण तथा प्रवर्धन गर्न जानकारी दिएको किंवदन्ती पाइन्छ । अछाम जिल्लाको पहिचानका रुपमा रहेको संसारकै सबै भन्दा सानो प्रजातीको गाई नौ मुठे गाई हो । हाल सम्म पनि वशं परिवर्तन नभएको गाईका रुपमा नौमुठे गाईलाई लिइन्छ । यो गाई भिर,पाखा,पहाड,पर्वत मैदान जुनसुकै ठाउँमा पनि चर्न र समायोजन हुन सक्छ ।
शारीरिक बनावट
प्रायजसो नौमुठे गाई कालो वर्ण सानो शरीरको हुन्छ । यसको तौल करीब १२० देखि १५० किलोग्राम जति हुन्छ भने सिङको सानो टुप्पो मात्र हुन्छ । यसको उचाइ मानिसको नौ मुठी अर्थात ८५ देखि ९० सेमिहुन्छ । पहिलो पटक ४- ५ बर्षमा बाली लाग्ने नौमुठे गाईको औषत आयु २० बर्ष जति हुन्छ । आफ्नो जिवनकालमा करिब १५ बेत बस्ने गरेको र प्रति बेत २२५ दिन दुध दिने गर्दछ । यो गाईले प्रतिदिन १।५ लिटर दुध दिने गर्दछ ।
धार्मिक महत्व
हिन्दु धर्ममा गाईलाई सबै भन्दा पवित्र प्राणी मानिन्छ । देवकर्म,पितृकर्म लगायत यज्ञ,यज्ञादिमा गाईको पञ्चकव्य आवश्यकता पर्दछ । पञ्चगव्य बिना यज्ञ स्थल शुद्ध भएको मानिदैन । गाईको दुध,दही,घिऊ,गहुँत र गोबरको संयुक्त रुपलाई पञ्चगव्य भनिन्छ । देवकर्म,पितृकर्ममा कायिक,वाचिक,मानसिक दोष निवृतहरण गर्नका लागि सर्व प्रथम प्रायश्चित गोदान गर्ने गरिन्छ । गौ दान बाट मानिसले आफ्नो जीवनकालमा ज्ञात,अज्ञात रुपमा गरेका पाप कर्महरु नष्ट हुन्छन भन्ने धार्मिक विश्वास रहदै आएको पाइन्छ । गाईको सर्वाअंगमा देवताको वास हुन्छ भन्ने कुरा विभिन्न पुराणहरुमा वर्णन गरेको पाइन्छ । गाईलाई गौ माताका रुपमा लिइन्छ । गाईको दुध,दही,घिऊ,सक्खर र महको संयुक्त मिश्रणलाई पञ्चामृत भनिन्छ । हरेक देवकर्ममा पञ्चामृतको अपरिहार्यता हुन्छ जुन अमृत समान मानिन्छ । देवपूजनमा प्रयोग हुने पञ्चोपचार,दशोपचार र शोडषोपचार पुजा विधिमा पनि गाईको दुध,दही र घिऊको प्रयोग हुन्छ । गाईको गोबरले लिपेर पञ्चगव्यले सेचन गरेर मात्र यज्ञादि स्थलहरुमा पवित्रा/शुद्धता आउछ भन्ने जनविश्वास गरिन्छ । गौ दानको कारणले अक्षम्य पापहरु पनि नष्ट भई मृत्यु पश्चात स्वर्गलोकप्राप्त हुन्छ भन्ने कुरा धर्म शास्त्रहरुमा वर्णन गरेको पाइन्छ । कन्यादान पश्चात गाई दान गरी दाइजो दिने प्रचलन परम्परा देखि चल्दै आएको देखिन्छ । हिन्दु धर्म अनुसार गरिने दश दानमा पनि गौ दानलाई अनिवार्य मानिएको छ । मानिसको मृत्यु हुनु भन्दा केही समय अगाडी गरिने बैतरणी दानमा गोपुच्छर समातेर गौदान गर्दा धर्मात्मा र पापात्मा छुट्याउने बैतरणी नदी सहजै पार गरी घोर नरक बाट मृतात्माले मुक्ति पाउने कुरा गरुडपुराणमा वर्णित छ ।गौदान बिना मृत्यु संस्कारमा पनि शुद्धता भएको मानिदैन । गाईलाई लक्ष्मी माताका रूपमा यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन कार्त्तिक कृष्ण अमावाश्या तिथिमा ओमकार परिवारले गौ तथा लक्ष्मी पूजन गरी श्रद्धाभाव प्रकट गर्दछन । संहारकर्ता शिवको बाहन नन्दी( गौपुत्र ) हरेक शिव मन्दिर अघिल्तिर राखिनु, भगवान कृष्णलाई गाईपालक अर्थात गोपालवंशी भनिनु र नेपालको इतिहासमा गाईपालकहरुले राज्य गरेको इतिहास भेटिनुले हिन्दु समुदायमा गाईको धार्मिक महत्व अत्याधिक रहेकोमा सन्देह रहँदैन। गाईलाई राष्ट्रिय जनावरका रूपमा व्याख्या गरिनुले पनि गाईको महत्व लाई इंगित गर्दछ । शास्त्रीय मान्यताअनुसार यदि घरको मुल ढोका अगाडि गाई बाधिएको छ भने त्यस घरमा कुनै पनि भुत, प्रेतले प्रवेश गर्दैन भनिन्छ ।
आर्थिक महत्व
आर्थिक दृष्टिले पनि गाई उतिकै महत्वपूर्ण छ । गाईलाई गोधनका रुपमा लिइन्छ । गाईको दुध,दही,घिऊ मानव स्वास्थ्यका लागि अमृत समान हुन्छ । बालबालिका,वयस्क,बृद्ध र रोगी लगायत जो कसैका लागि पनि गोरस उतिकै महत्वपूर्ण छ । गाईपालन गरी आर्थिक आय आर्जन गर्न सकिन्छ । गाईको गहुँत गोबरबाट प्राङ्गारिक मल निर्माण गरी खेतबारीमा कृषि उपजको उत्पादन बढाउन सकिन्छ । खेतबारीमा जोत्ने गोरु गाई बाट उत्पादन गरिन्छ । हरेक दृष्टिले गाई महत्वपूर्ण प्राणी मानिन्छ ।
औषधीय महत्व
गाईको धार्मिक र आर्थिक महत्व जतिकै यसको औषधीय महत्व रहेको छ । आयुर्वेदमा पञ्चगव्य उपचार विधि संसारकै उत्कृष्ट उपचार विधि मानिन्छ । घाऊ, चोटपटक बाहेक सबै प्रकारका रोगहरुको निदान पञ्चगव्य उपचार पद्धतिबाट गर्न सकिन्छ । पञ्चगव्यमा गौअर्घको बिशेष स्थान छ । गाईको गहुँतलाई वाष्पिकरण गरी बनाएको गौमुत्रलाई गौअर्घ भनिन्छ । गौ अर्घको प्रयोगले मानिसको शरीरमा रहेका हरेक विकारलाई निष्कासन गर्न सकिन्छ । गाईको गहुँत अर्थात गोमुत्रबाट १४८ प्रकारको रोग निदान गर्ने औषधी बनाउन सकिने कुरा वैज्ञानिकहरुले सिद्ध गरेका छन । गाईको गोबरलाई प्रशोधन गरी छाला सम्बन्धी रोगको उपचार गरिन्छ । गाईको घिऊले आरोग्यता र आयु वृद्धि गर्दछ । दहीले शरीरमा सात्विकता बढाउछ । गाईको दुध हरेक प्राणीका लागि अमृत समान हुनुका साथै स्वास्थ्यवर्धक र पौष्टिक हुन्छ । नौ मुठे गाईको पुच्छर देखि जुरो सम्म दैनिक १५ पटकका दरले २० दिन लगातार दुवै हातले मसाज गर्दा मानिसको रक्त चापलाई सन्तुलित गर्दछ । मानसिक रोग तथा डिप्रेसन बाट विक्षिप्त मानिसले लामो समय सम्म गाईको समीपमा बस्दा पनि केही राहत महसुस गर्दछ । उपरोक्तानुसारका उपचारमा नौमुठे गाईको गहुँत गोबर दुध दही र घिऊलाई अझ बढी प्रभावकारी मानिन्छ ।पाथीभारा आयुर्वेद हस्पिटल सिनामंगल काठमाण्डौले अछामको बैजनाथ बाट अध्ययन अनुसन्धानका लागि नौ मुठे गाई लिएर गएको र उक्त गाईको दुध र दही ल्याबमा परीक्षण गर्दा अन्य गाईको तुलनामा पोषिलो रहेको देखिन्छ । नौ मुठे गाईको गहुँत र गोबरमा पनि अन्य गाई भन्दा बहुउपयोगी औषधीय गुण रहेको देखिन्छ।
गाईको वैज्ञानिक महत्व :
(गाई धर्तीमा एकमात्र त्यस्तो प्राणी हो, जसले अक्सीजन ग्रहण गरेर अक्सीजन नै छोड्छ ।गाईको मुत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियम, नाइट्रोजन, फस्फेट आदि लगभग २४ तत्त्व हुन्छन्। दुधमा रेडियो विकिरणबाट रक्षा गर्ने सबभन्दा अधिक शक्ति हुन्छ ।दुधले हृदयको रोगबाट बचाउँनुमा साथै स्मरण शक्ति बढाउँछ । गाईको दुधमा केरोटिन नामक पदार्थ अधिक हुन्छ जसले आँखाको ज्योति बढ्छ । दुध दिने बेला गाईको मुत्रमा लैक्टोसको वृद्धि हुन्छ, जुन हृदय रोगका लागि लाभदायक हुन्छ। दुध चिल्लो रहित तर शक्तिशाली हुन्छ, यो जति खाए पनि मोटोपन बढ्दैन र यो स्त्रीहरुको रोगमा पनि लाभदायक हुन्छ । गाईको गोबरमा हैजाका कीटाणुलाई नष्ट गर्ने शक्ति हुन्छ । यसको गन्धले अन्य रोगका कीटाणु पनि मर्छन्। गोबर पिला, दाद, लुतो, घाउ, खटिरामा लाभदायक हुन्छ। केवल एउटा गाईको गोबरबाट प्रतिवर्ष लगभग ३० देखि ४५ हजार किलो बायोग्यास प्राप्त हुन्छ । गोबरको गुइठा जलाउँदा झिङ्गा, लामखुट्टे आदि कीटाणु भाग्छन् र दुर्गन्ध पनि नाश हुन्छ। गाईको गोबरमा भिटामिन बी-१२ प्रचुर मात्रामा पाइन्छ, यसले रेडियोधर्मि किरणलाई पनि सोस्छ। गाईको एक तोला घिउबाट यज्ञ गर्दा १६०० किलो अक्सीजन निर्माण हुन्छ । गौ-मूत्र बिहान खाली पेट सेवन गर्नाले क्यान्सर जस्तो घातक रोग पनि ठीक हुन्छ।गाईको शरीरलाई प्रतिदिन १५-२० मिनेट जति हातले मुसार्ने गर्दा उच्च रक्तचाप एकदम ठीक हुन्छ ।गाईको शरीरबाट निस्कने सात्विक तरंगले आस-पासको वायुमण्डललाई प्रदूषण रहित बनाउँछ। गाईको शरीरबाट प्राकृतिक रूपमा सुगन्ध निस्कन्छ। बाच्छा-बाच्छी रमाउँदा निस्कने आवाजले मानसिक विकृति तथा त्यस्तै खाले रोगलाई नष्ट गर्दछ। यी सबै तथ्यहरुको पुष्टि जर्मन कृषि वैज्ञानिक डा. जुलिशुस एवं डा. बुक द्वारा गरिसकिएको छ।अमेरिकन वैज्ञानिक जेम्स मार्टिनका अनुसार गाईको गोबर एवं शर्करा युक्त कार्बनिक पदार्थलाई समुद्रको पानीसँग मिलाएर त्यस्तो रसायन बनाइन्छ जसले बञ्जर भूमिलाई पनि हरा-भरा गरिदिन्छ । इटलीका वैज्ञानिक प्रा. जे. ई. बिग्रेडले गाईको गोबरबाट अनेकौं प्रयोग गरेर सिद्ध गरेका छन् कि गाईको गोबरबाट अनेकौं असाध्य रोगहरु ठीक हुन्छन्। स्रोतः गौ संरक्षक योगी पिताम्बर सँगको अनौपचारिक कुराकानीमा आधारित )
संरक्षणको आवश्यकता
शहरीकरण,बजारीकरण र आधुनिकीकरणले नौ मुठे गाईको संख्या दिनानुदिन घटिरहेको छ । अछामबाट तिब्र बसाइसराईका कारण पनि नौ मुठे गाई संरक्षणको अभावमा छ । उन्नत जातका गाईको विकासले गर्दा पनि नौ मुठे गाई संरक्षणको ओझेलमा पर्दै गएको छ । संसारकै सबै भन्दा सानो प्रजातीको लोपोन्मुख नौ मुठे गाईको वंश परम्परालाई संरक्षण गरी अछामको पहिचान बचाइ राख्नु आजको आवश्यकता हो । गाईको महत्वलाई आत्मसात गर्दै केही गौ प्रेमी संरक्षणकर्ताहरु गौ संरक्षणको महाअभियानमा जुटेका छन । योगी पिताम्बर लगायत संरक्षणकर्ताहरु नौ मुठे गाई संरक्षणका लागि यसको महत्वलाई दर्शाउदै विभिन्न स्थानमा गौशाला निर्माण गरी गौ संरक्षणमा जुटेका छन । यसै क्रममा योगी पिताम्बरको बिशेष पहल तथा चौरपाटी गाउँपालिकाको सहयोगमा देवकन्या देवीको समीप देवीथुममा गौ संरक्षणका लागि गौशाला निर्माण भई रहेको छ ।बैद्यनाथ क्षेत्रमा आश्रमका गुरु र बटुकहरुले पनि नौ मुठे गाई संरक्षण गर्दै आएका छन ।बहु बिशेषतायुक्त नौ मुठे गाईको सामाजिक, साँस्कृतिक,धार्मिक,आर्थिक र औषधीय महत्वलाई दर्शाउदै स्थानीयहरु बाटै गाई संरक्षण गर्नु आजको आवश्यकता हो ।जय गौ माता ।
लेखक चौरपाटी गाउँपालिकामा शिक्षा अधिकृतको रुपमा कार्यरत छन ।