जिल्ला प्रशासन कार्यालय अछाममा सेवाग्राहीको भिड

सुशील भण्डारी ,अछाम १३ कात्तिक :हिन्दु हरुको महान चाड दशैं सकिए संगै जिल्ला प्रशासन अछाममा सेवाग्राहीको भिड बढेको छ । नागरिकता, राष्ट्रिय परिचयपत्र,राहदानी बनाउने लगायतका प्राशासनिक कामको लागि सेवाग्राहीको प्रशासनमा भिड लाग्ने गरेको हो । बिहानै देखि सेवाग्राही लाईनमा बसेर पालो कुरिरहेको देख्न सकिन्छ । लामो समयदेखी रोजगारीको सिलसिलामा भारत गएका र काठमाँडौ लगायतका विभिन्न ठाउँहरुमा अध्यनको लागी गएका विद्यार्थीहरु दशैँ तिहार मनाउन घर फर्केसंगैै विभिन्न कामको लागी जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही हरुको भिड लाग्न थालेको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो ।
दशैं, तिहार अघि सेवा लिनेको संख्या भन्दा अहिले सेवाग्राहीको संख्या बढेको उहाँको भनाई छ । सेवाग्राही हरुको भिड बढेपनी जिल्ला प्रशासन अछामले आधा घण्टामै सेवा प्रदान गरिरहेको छ । कर्मचारी अभावका बाबजुत पनि जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि प्रशासनमा लाग्ने भीडभाड समेत कम भई सेवाग्राहीलाई समेत सहज हुन थालेको हो ।
सेवा लिन आउने सेवाग्राहीले आवश्यक सम्पुर्ण कागजात पुर्याएको खण्डमा ३० मिनेटमै सेवा प्रदान गरेर पठाउने गरेको प्रजिअ पोखरेलले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय अछाममा २२ जना कर्मचारीको दरबन्दी रहेको छ । दरबन्दी अनुसार एकजना सहायक प्रमुख जिल्ला अधिकारी , दुई जना प्रशासकीय अधिकृत हुनु पर्ने भए पनी कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी विगतका वर्षदेखी अछाममा छैनन् । दुई जना प्रशासकिय अधिकृतको दरबन्दीमा एकजना प्रशासकीय अधिकृत सन्तोष बिक मात्रै छन । त्यस्तै ५ जना नायब सुब्बाको दरबन्दीमा १ जना नायव सुब्बा जिबराज उपाध्यायले काम गरिरहेकाछन । ३ जना खरिदारको दरबन्दीमा २ जना र २ जना कम्प्युटर अपरेटरको दरबन्दीमा करारमा कर्मचारी काम गरिरहेका छन् ।
यो भन्दा पहिले असार २४ गते गृहमन्त्रालयले प्रशासकीय अधिकृत राम प्रसाद शर्मा र यादब भण्डारीको जिल्ला प्रशासन कार्यालय अछाममा सरुवा गरेको थियो । प्रशासकीय अधिकृत भण्डारी र शर्मा सरुवा भएको महिनौं पुग्दा समेत पनि जिल्ला प्रशासन कार्यालय अछाममा नआएर सिंहदरबार बाटै हराएका थिए । पहुँच र शक्तिको आडमा सिंहदरबार वरिपरीका कार्यालयमा मस्त तरिकाले बस्न बानी परेका कर्मचारीहरु दुर्गम जिल्लामा आएर काम गर्न मान्दैन्न ।
कर्मचारी अभावमा समेत जिल्ला प्रशासन कार्यालय अछामले ३० मिनेटमै सेवा प्रदान गर्न थालेपछि टाढा टाढाका नागरिकलाई निकै सहज भएको छ । अछाममा प्रशासनबाट नागरिकता लिनकै लागी नागरिकहरु २ दिन लगाएर मंगलसेन आउने गरेका छन । अछाम जिल्लामा एक मात्र ईलाका प्रशासन कार्यालय रहेको बिनायकमा एक जना कार्यालय सहयोगीको भरमा कार्यालय चलिरहेको छ ।