विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि
महेन्द्रनगर । २७ दिनदेखि बेपत्ता रहेका कञ्चनपुरका विपिन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।
इजरायल सरकारले विपिन हमासको नियन्त्रणमा रहेको पुष्टि गरेको हो । विपिन गत भदौको अन्तिम साता ११ महिनाका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषि अनुसन्धान तथा कामका सिलसिलामा उनी इजरायल पुगेका हुन् ।
इजरायली प्रधानमन्त्रीको कार्यालयले हमासको बन्धकमा जोशीसहित एक सय २२ विदेशी नागरिक रहेको बताएको छ ।
तीमध्ये सबैभन्दा बढी थाइल्यान्डका २४ जना छन् । बन्धक बनाएकामध्ये हालसम्म हमासले ५ जनालाई रिहा गरेको छ ।
हमासले गत अक्टोबर २० मा दुई अमेरिकी नागरिक र २३ अक्टोबरमा दुई जना इजरायली वृद्धालाई हमासले मुक्त गरेको हो । यस्तै, २९ अक्टोबरमा एक इजरायली सेना पनि मुक्त भएका छन् ।