मुख्यमन्त्री शाह र इजरायली राजदूतबिच भेटवार्ता
धनगढी, मङ्सिर १९ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच आज भेटवार्ता भएको छ । भेटको क्रममा मुख्यमन्त्री शाहले इजरायलमा हमास आक्रमणबाट ज्यान गुमाएका नेपालका १० जना विद्यार्थीको परिवारलाई सान्त्वनास्वरुप राहत उपलब्ध गराउन राजदूतलाई आग्रह गर्नुभएको छ ।
मृतकका अभिभावकलाई भेट गर्न पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गर्नुभएको छ । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको डेढ महिना अगाडि हमास आक्रमणबाट ज्यान गएको थियो ।
यसैगरी, हमासले बन्दी बनाएर लगेको कञ्चनपुरका विपिन जोशीको अवस्था अझै पनि अज्ञात छ । हमासले बेपत्ता बनाएको जोशीको तत्काल उद्धार र परिवारलाई राहतका लागि पनि मुख्यमन्त्रीले राजदूतलाई आग्रह गर्नुभएको छ ।
भेटको क्रममा मुख्यमन्त्री शाहले सुदूरपश्चिम सरकारले आगामी फागुन २३ र २४ गते प्रदेश लगानी तथा विकास सम्मेलन गर्न गइरहेको राजदूत हनान गोडरलाई जानकारी गराउनुभएको छ । लगानी तथा विकास सम्मेलनलाई इजरायली सरकारको साथ, समर्थन रहने राजदूतले प्रतिबद्धता जनाउनुभएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।