काठमाडौंबाट अछाम पुगेकी विद्यालय नर्सले देखेको समाज

काठमाडौंबाट अछाम पुगेकी विद्यालय नर्सले देखेको समाज

किशोरावस्था सुरु भइसक्दासम्म म जीवनको गन्तव्यबारे अनभिज्ञ थिएँ । साथीसंगीसँग बस्दा उनीहरूले अनेक सपना देखेको थाहा पाएँ । धेरै त अमेरिका, अस्ट्रेलिया जान्छु भन्थे । तर म अरु नै कुरा सोच्थेँ । मैले बिताएको बाल्यकाल, जहाँ पेट दुख्दा पनि औषधि नपाएर छटपटिनेहरू थिए । महिनावारीको बेलामा गोठमा बस्नेहरू थिए ।

यस्तै–यस्तै दृश्यले मैले मनमनै अठोट गरेकी थिएँ– पढाइ सकिएपछि म गाउँ नै फर्किनेछु । आफ्नै गाउँमा ल्याउनेछु केही न केही परिवर्तन । त्यसैले मैले नर्सिङ पढेँ र ग्रामीण स्वास्थ्यमा केही न केही परिवर्तन ल्याउने अठोट गरेँ ।

नर्सिङ पढाइ सकिएको करिब तीन महिनापछि मैले शहर छाडेँ । र, तय गरेँ सुन्दर सुदूरपश्चिमको यात्रा । काम गर्न मैले अछामको मंगलसेन नगरपालिका रोजेँ ।

मेरो पुर्ख्यौली थलो हो, सुदूरपश्चिम । तर, म तराईमै जन्मिएँ, हुर्किएँ । त्यसैले सुदूर पहाडको यात्रा गर्ने अवसर कहिल्यै जुरेन । एउटा नर्सका रूपमा पहाड उक्लिनुअघि पनि मैले कैयौँ पटक सुदूरपश्चिम जाने कोसिस गरेकी थिएँ । तर, केही न केही कारणले त्यस्ता योजना पूरा भएका थिएनन् । यसपटक म आफैँले रोजेर अछामको यात्रा तय गरेकी थिएँ ।

झण्डै ४८ घण्टाको यात्रापछि म काठमाडौंबाट मंगलसेन पुगेँ । अछाम यात्रा पहिलो थियो, यात्रामा म रमाएकी थिएँ । मलाई लामो यात्रा मन पर्छ । दुई दिनको यात्रा धेरैका लागि पट्यारलाग्दो हुन्छ । तर, मैले इन्जोय गरेँ । त्यो मेरो कुनै पर्यटकीय यात्रा थिएन । म त जागिरको सिलसिलामा हिँडेकी थिएँ ।  मंगलसेन मेरा लागि अञ्जान थियो । त्यो सानो पहाडी बजारका लागि म पनि अञ्जान थिएँ, सायद ।

एक्लो हुँदा प्रकृति सबैभन्दा प्रिय साथी भइदिन्छ । मेरा लागि पनि त्यस्तै भयो । अछामका पाखापहारासँग मैले आत्मीय सम्बन्ध गाँस्दै गएँ । स्थानीयसँग परिचय बढाएँ । भावनात्मक नाता जोड्दै गएँ । ती सबैले मलाई मंगलसेन– १३ का बस्तीमा प्रवेश गर्न सहज बनाए । जुन बस्तीलाई नगरपालिकाको सबैभन्दा पिछडिएको क्षेत्रका रूपमा लिइँदो रहेछ, जहाँ अझै पनि मोटरबाटो पुगेको छैन । न बिजुलीबत्ती छ । तैपनि, त्यो नगरपालिकाभित्र पर्छ । ससाना कामका लागि पनि घण्टौँ पैदल हिँडेर मंगलसेन बजार पुग्नुपर्ने स्थानीयको बाध्यता छ ।

अब कुरा गरौँ, स्वास्थ्यको । बस्तीमा स्वास्थ्य चौकी छ, स्वाथ्यकर्मीहरू छन् । तर स्वास्थ्य उपकरण, औषधि छैन । मैले विद्यालय नर्सका रूपमा गाउँमा काम गरिरहेकी छु । मैले स्वास्थ्य सेवासँगै, चेतनामूलक परामर्श पनि दिँदै आएको छु । अहिले पनि पहाडमा कलिलै उमेरमा विवाह गर्ने र महिनावारी हुँदा गोठमा बस्नुपर्ने छाउपडी प्रथा कायमै छ । त्यसैले किशोरकिशोरीलाई समाजमा रहेका यस्ता रुढिवादी अन्धविश्वास र परम्परालाई तोड्न उत्प्रेरित गर्दै आएकी छु ।

विद्यालयका छात्राहरूलाई महिनावारीलाई अभिशाप होइन, वरदान हो भनेर सम्झाउने गरेकी छु । तर, जवाफमा के पाएँ थाहा छ ? स्थानीय महिलाले नै मसँग भने, ‘मेडम तमिलो यसो नसिकाव । हाम्रा गोरु बाख्रा भिर गै मद्दा छन् । देउताको छल हुनो छ, हामी छाउपडीलाई घरमा राख्दैनौँ ।’

अर्को दृश्यले पनि मनलाई साह्रै नमज्जा लाग्छ । विद्यालय नर्सका रूपमा काम गर्दा मैले कापीकिताब बोकेर स्कुल जाने उमेरका धेरै किशोरीहरू काखमा नानी बोकेर आएको देख्दा मन कटक्क खान्छ । कतिलाई अभिभावकले नै पढाइ छुटाएर बिहे गरिदिएका थिए । कतिचाहिँ ७/८ कक्षा पढ्दैमा भागेर बिहे गर्दा रहेछन् ।

त्यसरी बिहे गर्ने केही किशोरी र तिनका आमाबुवालाई मैले भेटेँ पनि । उनीहरूका लागि यो सबै सामान्य रहेछ । भर्खरै बालविवाह भएकी एक किशोरीकी आमाले मलाई भनेकी थिइन्, ‘एक दिन पोइल जाने जात हो । धेरै घरमै बसे बिग्रिन्छन् । जहिले गए नि, जानैपर्ने हो । गए, निकै गरे । घर गरी खाए भैगो ।’ आमाहरूका कुरा त त्यस्ता छन्, बाहरूका त कुरै छाडौँ ।

यो बसाइमा मैले थुप्रैपटक गाउँबस्ती नियालेँ । यस्तो लाग्छ, त्यहाँका मानिसलाई मृत्यु हुन्छ भन्ने नै छैन । बिहान सबेरैदेखि राति अबेरसम्म काममा पिल्सिइरहँदा पनि भोकै, प्यासै बस्न बाध्य छन् । गरिबीले यसरी थिचेको छ कि आफ्नो भोक बिर्सेर परिवारको लालनपालन गरिरहेका छन् ।

म सम्झिन्छु, त्यो शहरको रमाइलो, त्यहाँका मानिसको जीवनशैली, हाइफाई र व्यस्तता, महिला पनि पुरुषभन्दा कुनै दृष्टिले पछि देखिन्नन् शहरमा । तर, गाउँमा अर्कै छ । सबैभन्दा धेरै श्रम खर्चिनेमा पनि महिला छन् । अप्ठेरा र जोखिमपूर्ण काम गर्दै घर सम्हालेर महिला नै बसेका छन् । छोराछोरीको स्याहार गरेर दुःखसुख जिन्दगी काटेका छन् । मौसमी रोजगारीका लागि भारत जानेको संख्या अछाममा धेरै छ । त्यसैले पनि घर धान्ने भनेको महिलाले नै हो ।

कहिलेकाहीँ म सोच्छु, म किन गाउँ आएँ ? सुगममै मैले आफ्नो करिअर अघि बढाउनुपर्थ्यो । तर, अर्को मनले भन्छ, म जहाँ छु र जे गर्दै छु एकदम ठीक गर्दै छु । समुदायका लागि गर्दै छु, भावी पुस्ताका लागि गर्दै छु । नर्सिङ पेसा एउटा जागिर मात्र हैन, समाजमा स्वास्थ्य चेतना फैलाउने अभियान पनि हो । त्यसैले म सन्तुष्ट छु । तर, गाउँको परिवेश अनौठो छ । महिलाहरू काममा जोतिएका छन् । पुरुषहरू कि परदेश जान्छन्, कि त बेरोजगार र कुलतमा फसेका छन् ।

मैले सुनेको कुनै बेला अछाममा मदिरा निषेधित थियो । जब खुल्यो, ठूलो संख्यामा पुरुषहरू मदिराको कुलतमा छन् । त्यसले यहाँको गरिबी हटाउनभन्दा झन् बढाइरहेको छ, महिला हिंसा बढाउन मलजल गरिरहेको छ । घरेलु हिंसा, यातना, बालविवाह, छाउपडी प्रथा, गरिबी र चेतनाको अभाव यहाँका मुख्य सामाजिक समस्याका रूपमा मैले देखेँ । घरेलु हिंसा, बालविवाह र छाउपडी प्रथाविरुद्ध मैले गाउँमा चेतना फैलाउने कोसिस गरिरहेकी छु ।बिस्तारै यहाँका आमा, दिदीबहिनीहरूले मेरा कुरा सुन्न थालेका छन् । हिजो सिधै असहमति राख्ने र परिवर्तन सम्भव छैन भन्नेहरू आज ‘सबैले यस्तो सोचे त हुने हो’ भन्छन् । समुदायले मेरो नामै ‘गाउँकी सिस्टर’ राखिदिएको छ । स्कुले किशोरीसँगको छलफलले बिस्तारै परिवर्तनका उज्याला धर्साहरू टाढा कतै मैले देखेकी छु । त्यसैले आशावादी छु, कुनै दिन यो बस्तीमा चेतनाको घाम झलमल्ल भएर  लाग्नेछ ।

लेखक : दिपिका रिजाल 

shilapatra.com बाट साभार ।

 

Leave a Reply