नागरिक र प्रहरी-प्रशासन बिचको सुमधुर सम्बन्ध हुनुपर्छ : सरोकारवाला
अछामको कमलबजार नगरपालिकाका स्थानीय नागरिकहरुले प्रहरी-प्रशासन र नागरिकहरु विच सुमधुर सम्बन्ध हुनुपर्ने बताएका छन । नागरिकहरुले खेपिरहेका समस्याहरु समाधानका लागि प्रहरीले पहल गर्नुपर्ने र नागरिकहरुले पनि समुदाय स्तरमा हुने आपराधिक गतिविधि न्युनिकरणका लागि प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामले कमलबजारमा आयोजना गरेको नागरिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले अहिले पनि गाउँघरमा मदिराको कारणले विभिन्न किसीमका आपराधिक घट्नाहरु बढीरहेकाले मदिरा व्यवस्थापमा स्थानीय सरकार र प्रहरी प्रशासनले ध्यान दिनुपर्ने माग गरेका थिए । मदिराकै कारणले गरिबि र हिंसा बढेको पाईएकाले यस तर्फ सरोकारवालाले ध्यान दिएमा घट्ना न्युनिकरण हुनेमा विश्वाश ब्यक्त गरेका छन ।
कमलबजार नगरपालिका प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै स्थानीय अगुवा तथा चक्रेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक कासीराम बजगाईले बजार क्षेत्रमा खानेपानीको समस्या हुदा स्थानीय नागरिकहरुले निकै सास्ती व्यहोर्नु परेको गुनासो गर्नुभएको थियो । बजारमा पानी नहुदा यसको मार विद्यालय पढ्ने बालबालिमा पर्ने गरेको उहाको भनाई छ । बिहान बेलुकी पढ्ने समयमा उनीहरुले पानी ल्याउन जानुपर्ने बाध्यता भएकाले यस बाट उनीहरुको पढाई निकै प्रभावित भएको बताउनुभयो ।
बजार क्षेत्रको खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने प्रधानाध्यापक बजगाईको सुझाव छ ।
कार्यक्रममा सहभागि स्थानीय नागरिकहरुले राखेका गुनासाहरुको जवाफ दिदै अछामका प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले पालिका स्तरमै पुगेर नागरिहरुका गुनासाहरु सुन्ने र समाधानका लागि पहल गर्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको हुदा नागरिकका गुनासाहरुको सुनुवाई हुने विश्वाश दिलाउनु भएको थियो । जिल्ला प्रशासन कार्यालय अछाममा जनशक्तिको अभाव हुदापनि नागरिकहरुका गुनासा सुन्ने र सम्बोधन गर्ने काम भईरहेको बताउदै उहाले कार्यालयमा आउने सेवाग्राहीलाई पनि मुस्कान सहितको सेवा दिने गरेको बताउनुभयो । नागरिकहरुका स्थानीय प्रशासन संग धेरै अपेक्षा भएकाले बजार अनुगन गर्ने जिम्मेवारी सम्बन्धित ठाउको स्थानीय सरकारलाई भएकाले स्थानीय सरकारलाई प्रशासनले सहयोग गर्ने गरेको बताउनुभयो ।
नागरिक सुनुवाई कार्यक्रमको समापन गर्दै नगर प्रमुख यज्ञ प्रसाद ढकालले नागरिकहरुले गरेका गुनासाका सम्बोधन हुने गरि काम गर्ने योजनाका साथ आफु लागी परेको बताउनुभयो । कार्यक्रममा सहभागि अधिकांश सरोकारवालाले बजार क्षेत्रमा खानेपानीको अभाव भएको गुनासो गरेकाले खानेपानीको समस्या समाधानका लागि स्थानीय सरकार चिन्तीत रहेको नगर प्रमुख ढकालको भनाईथियो । कार्यक्रममा प्रहरी संग सम्बन्धित नागरिकका गुनासाको जवाफ जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख सन्तोस पाठकले दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख विरेन्द्र जुहारीले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला सुरक्षा निकायका प्रमुख हरु, त्यस क्षेत्रका स्थानीय नागरिक,सरोकारवालाको सहभागिता रहेको थियो ।