बिहे त अन्तरजातीय नै गर्ने हो
अचेल मलाई एउटा प्रश्न बारम्बार सोधिन्छ । आफन्त हुन् वा चिनेजानेका, भेट्नासाथ सोधिहाल्छन्, ‘बिहे कहिले गर्छ्यौ नानी ? उमेर जाला है !’
‘भर्खर त पढाइ सकियो, रोजगारी सुरु हुँदै छ । अहिल्यै कहाँ गयो र उमेर ?’
म फिस्स हाँसिदिन्छु । शुभेच्छुकहरू नमागेको सल्लाह दिन्छन्, ‘जात मिल्दोसँग गर्नू है बिहे ।’
लौ, बिहेसँग जात किन आयो ? म पनि भनिदिन्छु, ‘बिहे त अन्तरजातीय नै गर्ने हो ।’
नातेदारहरू ट्वाल्ल पर्छन् । र, टुच्च भन्छन्, ‘इज्जत नफालेस् है परिवारको ।’
इज्जतको कुरा उठ्नासाथ म गम्छु । सोध्न मन लाग्छ, ‘एकातिर परिवर्तित समाजको आशा गर्नुहुन्छ । फेरि परिवर्तनको पहिलो खुड्किलो प्रेममा इज्जत जोड्नुहुन्छ । किन ?’
विवाहमा पारिवारिक इज्जत जोडिन्छ । तर, त्यसरी इज्जत जोड्ने कैयौँलाई मैले बिहान चिया पिउने समयमै रक्सीको बोतल समाएको पनि देखेको छु, सुनेको छु । त्यो बेला जात, धर्म र इज्जत कता बाँधेर राख्छन् होला ? तर, अन्तरजातीय कुरा आउँदा मानिस किन हिचकिचाउँछ ? हामी किन सोच्दैनौँ कि विभेदको जरो उखेलेर समाज रुपान्तरण गर्न अन्तरजातीय विवाह एउटा माध्यम बन्न सक्छ ।
अन्तरजातमा पनि दलित समुदायसँगको सम्बन्धमाथि धेरै टिकाटिप्पणी हुन्छ । मेरो नजरमा दलित संघर्षशील मानवको बिम्ब हो । तर, किन जन्मिँदै कुनै अपराध गरेझैँ व्यवहार हुन्छ ? दलितलाई दबाएर आफू माथि उक्लिन खोज्नु अमानवीय र असामाजिक व्यवहार हो । सबैलाई सम्मानित र समभावबाट मात्र समाज रुपान्तरण सम्भव छ । होइन भने गफ गर्ने मेलोबाहेक अरु केही हुँदैन ।
अहिलेकै जात व्यवस्थाभित्रै दलित मुक्ति सम्भव छैन । बरु जातीय व्यवस्थालाई नै अन्त्य गर्ने एउटा उपाय अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्नु उपयुक्त हुन्छ ।
यसो गाउँशहरतिर हेर्छु, श्रम चल्छ । सीप चल्छ । रगत चल्छ । यौन चल्छ । सबै चले पनि जब विवाहको कुरा आउँछ, जातको कुरा ल्याइन्छ । त्यसो त, विवाह व्यक्तिगत मामला हो । एउटै जातिभित्र वा अन्तरजातीय, प्रेम वा मागी जस्तोसुकै विवाह गर्न सक्छ । तर, अन्तरजातीय विवाह भन्नासाथ झस्किने समाजको जुन चरित्र छ, त्यसले विभेदको सन्देश दिइरहेको छ ।
अझै पनि समाजमा जातीय विभेद, उचनिच र छुवाछुतको कुप्रथा छ । हाम्रै पुस्ताका पनि धेरै साथीभाइहरू बाहिर बस्दा वा खाँदा जुन जातको भए पनि फरक नपर्ने तर दलितलाई घरमै लैजान र भान्सामा सँगै खान भने देवी देउता रिसाउने, रीतिरिवाज र चालचलन सुनाउने, बा र हजुरबा पुस्ताले मान्दैनन् भनेर अनेक बहाना झिक्छन् । अनि, पुरानो पुस्तालाई सम्झाउने, बुझाउने र परिवर्तन गर्नेचाँहि हाम्रो पुस्ताले होइन ? चार मान्छेका बीचमा गफ दिँदा बडो आधुनिक ।
समाजशास्त्रीय विचार । तर, जब व्यवहारको कुरा आउँछ, ती सबै आदर्शका भाषण छिनभरमै विलुप्त हुन्छन् ।
म मेरै पुस्ताको कुरा गर्छु । म मध्यम वर्गीय परिवारकी छोरी । पुर्ख्यौली थलो सुदूरपश्चिम । सुदूरपश्चिममा अझै पनि जातीय विभेद कम भएको छैन । त्यसैले कतिपय मेरा कुरा मेरै परिवारमा पनि अलि नरुच्ला । कारण, समाजको डर । कतै छोरीले अन्तरजातीय बिहे गर्ने त होइन ? कतै इज्जत फाल्ने त होइन भन्ने भय सायद मेरो परिवारमा पनि होला ।
के छ सुदूरपश्चिममा ?
एक दिन अछाम मंगलसेनको गाउँ घुम्दै थिएँ । एक जना आमाले सोध्नुभयो, ‘नाम के हो नानी ?’
म अलि अन्तरमुखी छु । म एकछिन सोचेर भनेँ, ‘दीपिका नेपाली हो आमा ।’
‘नेपाल भन्यौ है ?’ भन्नुभयो ।
मैले ‘होइन आमा, नेपाली भनेको’ भनेँ । उहाँ त मुख बिगार्दै ‘देखिन्नेउ त नेपालीजस्ती । किन झुटो बोल्छ्यौ ?’ पो भन्न थाल्नुभयो ।
झुट बोलेकी छैन आमा भन्दै म मुस्कुराउँदै त्यहाँबाट निस्किएँ । सोध्न मन लाग्छ, अनुहारमा जात लेखेको हुन्छ र ?
नेपाली थर सुन्नेबित्तिकै किन अनुहार खुम्च्याइन्छ यहाँ ? आखिर के छ जातमा ? प्रकृतिले पनि जातअनुसारको फरक व्यवहार गर्छ र ? अझै पनि यो अमिल्दो कुप्रथाले नेपाली समाज । अझ भनौँ, सुदूरपश्चिममा नराम्ररी जरा गाडिरहेको छ । आखिर सबैैको रगत रातो छ । शारीरिक बनावट उस्तै छ । तैपनि, यहाँ जातिगत भेदभाव र छुवाछुत किन जीवितै छ ?
तराईमै जन्मिएँ, उतै हुर्किएँ । मेरो बाल्यकाल तराईमै बित्यो । पश्चिमका कुप्रथाहरू जस्तैः छुवाछुत, लैङ्गिक हिंसा, जातीय भेदभाव, लैङ्गिक भेदभाव र छाउपडी प्रथाबारे मैले धेरै सुनेकी थिएँ । तर, भोगेकी थिइनँ । म धेरै अघिदेखि अछाम आउन चाहन्थेँ । पढाइ सकेर जागिरको सिलसिलाले मात्र त्यो सम्भव भएको थियो । मैले घरमा बाल्यकालदेखि सुनिरहेको तर, त्यसको पीडा नजिकबाट नदेखेको विभेद र उत्पीडनको कथाव्यथा अछाम आएर आफ्नै आँखाले देखेँ ।
साँच्चै बेग्लै छ, यहाँको बसाइ, रहनसहन, बोलिवचन, व्यवहार । यहाँ त जुन जातले मानिसलाई चिनिन्छ, त्यही जातअनुरुप टोलको नामकरण भएका रहेछन् । अझ एउटै जातमा पनि त्योभन्दा म ठूलो भन्ने अहम् राख्दा रहेछन् दलितभित्र पनि, गैरदलितभित्र पनि । यो अझै कायम नै रहेको पाएँ । एक त कथित् माथिल्लो जातकाले छोइछिटो गर्छ, त्यसमाथि दलितभित्रै पनि एकअर्काबीच उचनिच रहेछ ।
यसो गाउँशहरतिर हेर्छु, श्रम चल्छ । सीप चल्छ । रगत चल्छ । यौन चल्छ । सबै चले पनि जब विवाहको कुरा आउँछ, जातको कुरा ल्याइन्छ । अन्तरजातीय विवाह भन्नासाथ झस्किने समाजको जुन चरित्र छ, त्यसले विभेदको सन्देश दिइरहेको छ ।
बढ्दो बसाइसराइले पातलिइसकेको छ, यहाँको बस्ती । अलि पैसा हुनेहरू तराई झरिसके, कोही छाक टार्नकै लागि परदेशिनुपर्ने बाध्यता छ । जातिगत हिसाबले सबैभन्दा दबिएका छन् दलित ।
मैले सुदूरपश्चिममा मात्र विभेद छ भन्न खोजेको होइन । मैले बाल्यकालदेखि नै जातीय विभेद आँखैअडाडि देखेको छु । त्यो सुदूरपहाडमा झन् धेरै रहेछ मात्र भन्न खोजेको हो । मलाई मेरो बाल्यकालको त्यो पल याद आउँछ, जहाँ मेरी अन्त्यन्तै मिल्ने साथी थिइन् सीमा नेपाली । अक्सर उनी मेरो घर र म उसको घर गइरहन्थ्यौँ । पारिवारिक सम्बन्ध पनि राम्रो थियो । एकपटक मेरी बज्यै (हजुरआमा) पहाडबाट बर्दिया आउनुभएको थियो । सीमा पनि हाम्रो घर आएकी थिइन् । बज्यैले उसलाई पनि मलाईजस्तै माया गर्नुभयो । अर्को दिन सोध्नुभो, ‘नानी तेरी साथी साह्रै प्यारी रैछिन् । के नाम हो तिनको ?’
आफ्नो मिल्ने साथीलाई बज्यैले पनि प्यारी भनेपछि म खुसी भएँ । हत्तपत्त भनिहालेँ, ‘सीमा नेपाली हो बज्यै ।’ मैले त्यति भन्दा नभन्दै बज्यैको अनुहार नराम्ररी बिग्रिएको मैले देखेँ । उहाँ तल्लो जातकी केटीसँग संगत गरेको भनेर रिसाउनुभयो । अनर्थै भयो भन्न थाल्नुभयो । एकछिनअघिसम्म प्यारी सीमा एकाएक कुजात हुन पुगिन् । त्यो क्षण म आफै असाध्यै धेरै अपमानित भएको महशुस गरेँ । अनेक प्रश्न थिए मसँग । तर, त्यसको जवाफ बज्यैसँग थिएन्, समाजसँग थियो । समाजको तर्फबाट जवाफ दिने कोही थिएन् ।
मैले देखेको गाउँघर
अछामका गाउँघर घुम्दा एक दिन मैले पधेरामा झगडा भएको देखेँ । एकाबिहानै गाग्रीभरिको पानी किन छोएको भनेर कथित् माथिल्लो जातकी आमा झगडा गर्दै थिइन् । यत्रो पानी छोइदिइछ । धारामा पानी छैन, अब कहाँबाट ल्याउने भन्दै उनी चिच्याइचिच्याइ गाली गरिरहेकी थिइन् । मैले स्वास्थ चौकीमा सुत्केरी भएकी महिलाको नाम याद गरेँ, लिलावती परियार । साँझको पानी भर्दै गर्दा अस्ति सुत्केरी भएकी दिदीपछि मेरो पालो आयो । मैले भरिनसक्दै कराउने तिनै आमा आइन् । उनले पानी भरिसकेपछि मैले पनि जिस्क्याउँदै भनिदिएँ, ‘आमा, लिलावती दिदीले भर्खरै पानी भरेर जानुभयो त । उहाँले धारो नै छोइदिनुभयो त । आज तपाईको पानीचाहिँ छोइएन ?’
सायद, उनीसँग जवाफ थिएन् । आँखा तर्दै गइन् । म पनि मुस्कुराइदिएँ ।
पँधेरामा अनेक कुरा सुन्न पाइन्छ ।
‘माथिल्घरे काकीकी छोरी त लुहारसँग भागेकी रैछे । बा मरेको दिन पनि आउन दिएनन् रे । किन गएकी होली है, अजातसँग । नाकै काटिछे ।’
‘अझै घर भित्र्याएका छैनन रे । हेर नाकै काटिछे तेसले । घरमा कति राम्रो सरकारी जागिर भाको केटा खोजेका थिए रे ।’
यस्ता कथाव्यथा सुन्दासुन्दा मलाई समाजप्रति दया लाग्न थालेको छ । कथित् माथिल्लो जातका परिवारको एउटै डर छ, कतै आफ्नी छोरी तल्लो जातका केटासँग जाने त होइन ? कतै छोराले दलित बुहारी ल्याउने त होइन ? छिटोछिटो खोजेर आफ्नै जातमा लगनगाँठो कसिदिन पाए हुन्थ्यो । त्यसपछि बाबुआमा ढुक्क । परिवारको इज्जत जोगिने, समाजमा बाआमाको नाक जोगिने । छोरीहरू जब १७/१८ वर्ष पुग्छन्, अनि मारे पाप पाले पुण्य भन्दै लगाइदिन्छन् जिम्मा । त्यसैमा अलि २/४ अक्षर पढेलेखेको, रोजगार वा विदेशमा भएको भेटिए कलिलैमा कन्यादान गरिदिन्छन् ।
सोच्नुहोस्, अझै कति पिछडिएको छ हाम्रो समाज ? जबसम्म आफूमा लुकिरहेको किञ्चित् सोच हटाउन सक्दैनौँ, तबसम्म समाज जहाँको त्यहीँ रहन्छ । यस्तैउस्तै अवस्थाको परिधिमा घुमिरहन्छ ।
त्यसमा अन्तरजातीय विवाहले अहिलेको विभेदमा थोरै भए पनि घुलमिल ल्याउन सक्छ । अन्तरजातीय विवाहको समाजशास्त्रीय मात्र होइन, वैज्ञानिक दृष्टिले पनि फाइदा छ । जातीय पर्खाल भत्काउन त्यसले सघाउँछ । अन्तरजातीय जोडीबाट जन्मिएका सन्तानको नश्ल सुधारसमेत हुने वैज्ञानिक तथ्यले बताउँछ ।
संसार नै एउटा गाउँ भनिरहेका बेला हामी जातमा अल्झिएर बारम्बार लडिरहनु एकदमै पछौटेपन हो । त्यसै पनि अन्तरजातीय विवाहले धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा हामीलाई उदार एवं विकसित बनाउँछ । अघि नै भनेँ नि विवाह व्यक्तिगत मामिला हो । तर, हाम्रोजस्तो पारिवारिक अन्तरघुलनले महत्त्व राख्ने समाजमा दुई जाति, समुदाय र परिवारको मिलन पनि हुन जान्छ । त्यसैले मैले पनि उपयुक्त जीवनसाथी पाएसम्म बिहे त अन्तरजातीय नै गर्ने हो ।
shilapatra.com साभार
लेखक: दिपिका रिजाल