नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

नागरिक उड्डयन क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै हो : मन्त्री पाण्डे

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नागरिक उड्डयन क्षेत्रको सुधार आवश्यक रहेको बताएका छन्। भाषा आयोगको नवौं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने नेपाल एयरलाइन्सले नै भएको बताए। उनले नेपाल एयरलाइन्स सशक्त र प्रभावकारी नभएसम्म अन्य कुरामा सुधार हुन नसक्ने जिकिर गरे।

मन्त्री पाण्डेले मन्त्रालयको बारेमा सम्पूर्ण जानकारी पाइसकेको र आफूले बुझेको भन्दै अब रिफर्मको शुरुवात कहाँबाट गर्नुपर्छ भन्नेकुरा बुझिसकेको पनि बताए। सत्य र निष्ठाबाट विचलित नभइ नीतिगत सुधारको बाटोबाट मन्त्रालयलाई अघि बढाउने बताउने जानकारी दिदैँ उनले भाषाहरुको संरक्षण, संवर्द्धन र विकासबाट नेपालको बहुसांस्कृतिक पक्षलाई बलियो र समृद्ध बन्ने बताए। उनले संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा जानुपर्ने आवश्यकता रहेको बताए।

उनले भने,‘हामीले नागरिक उड्डयन क्षेत्रलाई सुधार्नुपर्ने छ, नागरिक उड्डयनको क्षेत्रलाई सुधार्ने भनेको सरकारी एयरलाइन्सले नै रहेछ। यो नेपाल एयरलाइन्सले एउटा बाटो लिन्छ, नेपाल एयरलाइन्स रिफर्म भयो भने त्यसले नै बुद्ध एयरलाइन्सलाई नियमन गर्छ, टिकट बढी मूल्य लिन सक्दैन, त्यसले नै कतार एयरलाइन्सलाई नियमन गर्छ, उसले पनि टिकटको पैसा बढी लिन सक्दैन, यो दिशामा अब हाम्रो संस्कृति, पर्यटन र नागरिक उड्डयन सुधारको दिशामा, रिफर्मको दिशामा जानका लागि हाम्रो प्रमुख लक्ष्य हुनुपर्छ।’

भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले भाषाको मूल जरो उत्पादन भएको बताए। उनले संस्कृति पनि भाषामै अड्किएको बताए। भाषा नरहे संस्कृति नरहने उनले बताए।  भाषा बिना संस्कृतिको मौलिकता हराउने पनि उनको भनाइ छ।

उनले भने,‘भाषाको मुल जरो हो उत्पादन पद्धति, संस्कृति पनि त्यसैमा अडिएको हुन्छ, त्यही संस्कृतिको एउटा भाग भाषा पनि हो, हामी हाम्रो उत्पादन पद्धति यदि समाप्त पार्छौं भने हाम्रो संस्कृति पनि रहँदैन, हाम्रो संस्कृतिको मौलिकता पनि हराउँछ, हाम्रो भाषा पनि हराउँछ।’

अध्यक्ष ठाकुरले भाषा सर्वेक्षण गहिराइमा पुगेर गर्नुपर्ने बताए। भाषा आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न उनले आग्रह गरे।

Leave a Reply