तिलगंगा आँखा प्रतिष्ठानको सेवा अब कमलबजारबाटै

तिलगंगा आँखा प्रतिष्ठानको सेवा अब कमलबजारबाटै

अछाम —तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंले सुदूरपश्चिमको ८८ स्थानीय तहमध्ये अछामको कमलबजार नगरपालिकामा पहिलो पटक आफ्नो लगानीमा सेवा दिने भएको छ ।

तिलगंगा आँखा प्रतिष्ठानका नेपाल आँखा कार्यक्रमका डाक्टर मोहन कृष्ण श्रेष्ठका अनुसार शहरी आँखा केन्द्र कमलबजार अछामको संचालनका लागि तिलगंगा आँखा प्रतिष्ठान, कमलबजार नगरपालिका र नेपाल नेत्रज्योति संघ गेटा आँखा अस्पतालबीच सम्झौता भएको छ । ‘अन्य संस्थाहरु सहकार्य गरेर सुदूरपश्चिममा शिविर संचालन भइरहेका छन् ।

संस्थागत रुपमा सुदूरपश्चिममा पहिलो पटक तिलगंगा आँखा प्रतिष्ठानले कमलबजार नगरपालिकासँग सहकार्य गरेर काम गर्न थालेको हो । अछाममा संचालन हुने आँखा उपचार केन्द्रको फ्रन्टलाइनमा तिलगंगा आँखा प्रतिष्ठान नै रहेने छ,’ डाक्टर श्रेष्ठले भने, ‘तिलगंगा आँखा प्रतिष्ठानले यसअघि ४५ स्थानीय तहसँग सहकार्य गरेर काम गरिरहेको छ । यी मध्येका धेरैजसो स्थानीय तह बाग्मती प्रदेशका छन् । सुदूरपश्चिममा पहिलो पटक सेवा दिँदैछौं ।’

सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्न, आँखा उपचार सेवाको पहुँच नपुगेका ठाउँहरुमा शिविर संचालन गर्न र दुर्गमका जनतालाई आँखा उपचारमा राहत दिनका लागि तिलगंगा आँखा प्रतिष्ठान र गेटा आखा अस्पतालसँग सहकार्य गरेर सेवा प्रवाहको प्रयास भइरहेको कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए ।

उनका अनुसार तिलगंगा आँखा प्रतिष्ठानले ४० लाख रुपैयाँ बराबरको लगानी लगाउने, २ जना कर्मचारीको तलब बेहोर्ने, वर्षमा एक पटक विशेषज्ञ आँखा शिविर संचालन गर्ने सम्झौतामा उल्लेख छ । नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा कमलबजारमा शहरी आँखा केन्द्र संचालनका लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

‘दुर्गमका जनताले आँखाको राम्रो उपचार पाएका छैनन् । धनगढी , नेपालगञ्ज, काठमाडौंसम्म उपचारका लागि पुग्न नसक्ने जनता धेरै छन् । उनीहरुलाई केन्द्रमा राखेर पहिलो पटक यो कार्यक्रम सुदूरपश्चिमको कमलबजारमा लागु हुँदैछ,’ नगर प्रमुख ढकालले भने,‘कमलबजार मात्रै नभएर तुर्माखाँद, ढकारी र दैलेखसम्मका जनताले सेवा पाउने छन् ।’

शहरी आँखा केन्द्र संचालनका लागि कमलबजार नगरपालिकाका स्थानीय चित्र बजगाइले निशुल्क भवन उपलब्ध गराउने भएका छन् । स्थानीयले आफ्नै ठाउँमा आखाको उपचार पाउने भएपछि त्यसलाई सहज बनाउन अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि आफ्नो घर निशुल्क रुपमा उपलब्ध गराउने उनले बताए ।

‘आँखामा सानो समस्या हुँदा पनि शहरबजार नै जानुपर्ने बाध्यता हट्ने भएपछि मैले पनि निशुल्क रुपमा भवन दिने निर्णय गरेँ,’ उनले भने ।ekantipur.com बाट 

Leave a Reply