ढकारीमा १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु
अछाम : अछामको ढकारी गाउँपालिकामा १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर रावलले औचापारिक रुपमा उद्घाटन गरेपछि प्रतियोगिता सुरु भएको हो ।
ढकारी युवा तथा खेलकुद विकास समितिका अध्यक्ष टंकबहादुर साउँदको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रदेशसभा सदस्य रावल प्रमुख अतिथि रहनु भएको थियो ।
उहाँले उद्घाटन समारोहमा बोल्दै खेल क्षेत्रको विकासका लागि ढकारीले गरेका प्रयासहरु प्रशंसनिय रहेको भन्दै यसको निरन्तरतामा जोड दिन आग्रह गर्नुभयो । खेलाडी राष्ट्रका गहना भएकाले उनीहरुको मर्म बुझेर खेल क्षेत्रमा लगानी लगाउन पनि उहाँले सुझाब दिनुभयो ।
साथै प्रदेश सरकारलाई ढकारीको खेल क्षेत्रमा लगानी लगाउने विषयमा आफु दबाब दिने प्रतिवद्धता समेत उहाँले जनाउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले आफ्नै पालामा ढकारीमा खेलकुदको बृहत्तर विकास गर्ने बताउनुभायो ।
जसका लागि बुडासैन खेलमैदान सँगै प्रत्येक वडामा खेलकुद मैदान निर्माणको अवधारणा ल्याइएको उल्लेख गर्नुभयो । उहाँले अब पनि पालिकाले खेल र खेलाडीको विकासका लागि गाउँपालिकाले कुनै कमी हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।
यही पुस १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन समारोहमा विशिष्ट अतिथिका रुपमानेपाली काङ्ग्रेसका महासमिति सदस्य बलबहादुर कुवर , ढकारी गाउँपालिकाका निवर्तमान अध्यक्ष धनबहादुर बुढा, उपाध्यक्ष नेत्रकला देबी शाही रहनु भएको थियो ।
मावि स्तरका ८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटनमा वडा नम्बर १ देखि ८ सम्मका सबै वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुको पनि उपथिति थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि भवानी प्रसाद उपाध्याय, नेकपा एमालेका जिल्ला कमिटी सदस्य टोपबहादुर शाही, नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य नृपबहादुर थापा, नेकपा एकिकृत समाजवादीको जिल्ला कमिटी सदस्य बिरबहादुर साउँद र नेपाल कम्युनिष्ट पार्टीका लोकेन्द्र शाहीको पनि उपस्थिति रहेको थियो ।
उद्घाटनमा गाउँपालिकाका कर्मचारी, प्रधानाध्यापकहरु, खेलकुद बिकास समितिका सदस्यहरु र बिद्यार्थीहरु पनि सहभागि थिए ।
ढकारी गाउपालिका यूवा तथा खेलकुद विकास समिति अध्यक्ष टंक बहादुर साउदको अध्यक्षतामा भएको उद्घाटन समारोहमा युवा तथा खेलकुद विकास समितिका सदस्य सचिव प्रकाश बहादुर साउँदको स्वागत मन्तब्यबाट राखेका थिए । सभाको सञ्चालन गाउँपालिकाको प्रशासन शाखा प्रमुख नविन प्रसाद रिमालले गर्नुभएको थियो ।