अछामको ढुंगाचाल्नामा सुविधासम्पन्न प्रहरी चौकीको उद्घाटन

अछामको ढुंगाचाल्नामा सुविधासम्पन्न प्रहरी चौकीको उद्घाटन
सुशील भण्डारी ,अछाम ।
अछामको ढकारी गाउँपालिका -६ मा अवस्थित प्रहरी चौकी ढुंगाचाल्नाको एक समारोहका बीच उद्घाटन गरिएको छ । सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश चन्दले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो । नवनिर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक चन्दले नेपाल  प्रहरीलाई पूर्वाधार, सीप, सुविधा र प्रविधिमा अब्बल बनाउँदै लैजानुपर्ने बताउनुभयो ।
उहाँले प्रहरी आफैंलाई पनि काममा उच्च मनोबल प्राप्तसँगै नागरिकमैत्री सेवा प्रवाह गर्न पूर्वाधारको ठुलो भूमिका हुने बताउनुभयो । जिल्लाको बिकट ठाउँमा यत्तिको सुविधा सम्पन्न भवन निर्माण हुँदा यहाँका आम नागरिक लाई सेवा छिटोछरितो हुनुका साथै अपराध रोकथाम, कुरीति अन्त्य, जनचेतना विस्तार, प्रकोप नियन्त्रण र समुदायको सुरक्षा गर्न सहज हुने बताउनुभयो । नेपाल प्रहरीलाई भौतिक रूपमा आत्मनिर्भर बनाउने उदेश्यले नेपाल प्रहरीको नियमित बजेट बाट प्रहरी चौकी निर्माण गरिएको    प्रनामनी  चन्दले बताउनुभयो ।
प्रहरीले ढकारी गाउँपालिका क्षेत्र मात्रै नभएर तुर्माखाद गाउँपालिकाको क्षेत्रमा समेत शान्ति सुरक्षा दिन सक्ने भएकोले यस ठाउँका नागरिकहरुले सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने ढकारी गाउँपालिका अध्यक्ष प्रकाश साउदले बताउनुभयो । ढुङ्गाचाल्ला प्रहरी चौकीमा फर्निचर व्यवस्थापनका लागी गाउँपालिकाले ३ लाख रकम समेत बिनियोजन गरेको जानकारी गराउनुभयो ।
सिमित स्रोत साधनको बाबजुद पनि ग्रामीण भेगमा सुविधा सम्पन्न भवन निर्माण हुनुमा यहाँको नागरिकले आफुलाइ भाग्यमानी ठान्नुपर्ने अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले बताउनुभयो । प्रजिअ लम्सालले १८ रोपनी जमिनमा निर्माण भएको यो भवनले प्रहरीलाई मात्रै सुविधा नभएर यसले शान्ति सुरक्षा मजबुत बनाउन पनि सहज हुने बताउनुभयो । आफैँ असुरक्षित भएर प्रहरीले सेवा दिन नसक्ने भन्दै अब यसपछि दुर्गममा खटिने प्रहरीको मनोबलसमेत बढ्ने उहाँको भनाई छ । जिल्लामा शान्ति सुरक्षा कायम गराउने सन्दर्भमा जिल्लाको प्रहरी प्रशासन कटिबद्ध रूपमा लागिपरेको समेत बताउनुभयो ।
जिल्लामा रहेका प्रहरीहरू अहिले पनि संरचना अभावकै कारण सुरक्षित नरहेको भन्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बाँकी रहेका ठाउँमा पनि यस्तै सुविधानसम्पन्न संरचना बनाउन आवश्यक रहेको बताउनुभयो ।
०३९ साल पुस २९ गते ढुंगाचाल्नाका स्थानीय समाजसेवी मोतीसिंह बुढाले ढुंगाचाल्ना बजारमा रहेको आफ्नो चारकोठाको दुईतले कच्ची भवन दिएर प्रहरी चौकी स्थापना भएको थियो । उहाँका अनुसार ०४७ सालमा यो जग्गा नेपाल प्रहरीका नाममा दर्ता गराइएको हो । त्यसवेला स्थापना भएको ढुंगाचाल्ना प्रहरी चौकीको कच्ची भवन द्वन्द्वका वेला ध्वस्त भएको हो ।
जिल्लाको विकट क्षेत्रमा सुविधा सम्पन्न भवन निर्माण भएकोमा स्थानीय खुशी भएका छन् । समाजमा शान्ति सुरक्षा अमन चयनमा ठुलो सहयोग पुग्ने स्थानीयले बताएकाछन । साथै स्थानीय हरुले यस चौकीमा महिला प्रहरीको समेत माग गरेका छन् । तिन करोड अन्ठाउन्न लाख एकहक्तर  हजार नौ सय चौरहत्तर रुपैयामा भवन निर्माणको जिम्मा आलोक बिल्डर्स प्रालिले लिएको थियो । नवनिर्मित भवन प्रशासनिक कार्यकक्ष, हल, हिरासतसहित सुविधासम्पन्न रुपमले बनेको छ ।

Leave a Reply