पञ्चदेवल विनायकमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
अछाम । जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिकामा नगर स्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
पञ्चदेवल विनायक नगरपालिकाको आयोजनामा सञ्चालन भएको प्रतियोगिता विद्यामन्दिर नमुना माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार भव्य रूपमा उद्घाटन गरिएको छ।
पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख अम्बिका चलाउनेको अध्यक्षतामा भएकाे उद्घाटन समारोहमा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए।
समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले खेलकुदले व्यक्तित्व विकास मात्र नभई राष्ट्रिय पहिचान उजागर गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले खेलकुदलाई प्रतिभा प्रस्फुटन गर्ने उत्कृष्ट अवसरका रूपमा परिभाषित गर्दै सुदूरपश्चिम प्रदेशको खेलकुद विकासका लागि विशेष योजना अघि सारिने प्रतिबद्धता व्यक्त गरे। साथै, शिक्षा, स्वास्थ्य तथा विकास निर्माणका क्षेत्रमा अछाम जिल्लालाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिने पनि उल्लेख गरे।
कार्यक्रममा विशिष्ट अतिथिकाे आसनबाट बाेल्दै संविधान सभा सदस्य जानकी साउद रावलले खेलाडीहरू राष्ट्रको गहना भएको उल्लेख गर्दै खेलकुदका माध्यमबाट मुलुकको नाम उच्च बनाउन सकिने विश्वास व्यक्त गरिन्। यस्तै, विशिष्ट अतिथिको आसनबाट बोल्दै नगर उपप्रमुख हर्कबहादुर रावलले नगरको समग्र विकासमा आफूहरू लागि परिरहेको उल्लेख गरे।
कार्यक्रमको समापनमा बोल्दै नगर प्रमुख अम्बिका चलाउनेले खेलकुदले शारीरिक, मानसिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले खेल क्षेत्रको विकास र समग्र नगरपालिकाको विकासका लागि आफू निरन्तर लागि रहेको विश्वास व्यक्त गरिन्।
प्रतियोगिताको उद्घाटन समारोहमा सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर रावल, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरपालिका अन्तर्गतका सम्पूर्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, समाजसेवी तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चार दिनसम्म सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न विधाका ३० वटा खेल समावेश गरिएको नगरपालिकाका खेलकुद प्रशिक्षक कमल तिमिल्सैनाले बताए ।
नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नेपाल रेडक्रस सोसाइटी पञ्चदेवल विनायक उपशाखाले नगरपालिकाको समन्वयमा प्राथमिक उपचार सेवा प्रदान गरिरहेको छ ।
उद्घाटन कार्यक्रममा सामाजिक विकास समिति संयोजक दुर्गा प्रसाद तिमिल्सैनाको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन हंसराज अधिकारीले गरेका थिए ।