पन्चदेवल विनायकमा १६५७ जना बालिकालाई एचपिभी खोप लगाइँदै

विनायक : पन्चदेवल विनायक नगरपालिकाले माघ २२ देखि २६ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय खोप अभियान अन्तर्गत पन्चदेवल विनायकले १६५७ बालिकालाई पाठेघरको क्यान्सर न्यूनीकरणका लागि खोप लगाउने भएको हो । जस अनुसार १५९२ जना विद्यालयमा भर्ना भएका र ६५ जना विद्यालय बाहिर रहेका बालिकालाई खोप लगाइने छ ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख तथा जनस्वास्थ्य निरीक्षक जनक बहादुर बुढाका अनुसार पन्चदेवल विनायक नगरपालिकामा ३० ओटा खोप केन्द्रमा खोप लगाइनेछ ।
नगरपालिकामा सोमबार भएको अभिमुखीकरण कार्यक्रममा खोप अभियान सञ्चालनका विषयमा छलफल समेत भएको छ ।
पालिकाका नगरप्रमुख अम्बिका चलाउनेले पाठेघरको क्यान्सर न्यूनीकरणका लागि सञ्चालन हुने अभियानमा सहयोग गर्न आम सरोकारवालालाई अपिल गरिन । उनले खोपका विषयमा सकारात्मक सन्देश फैलाउन सञ्चारकर्मीलाई आग्रह गर्दै पन्चदेवल विनायक नगरपालिका पूर्ण खोप युक्त पालिका भएकोले एचपिभी खोप लगाउन कोही पनि छुट्न नहुने धारणा राखिन । उनले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा फर्काउनको लागि काम गर्न शिक्षा शाखालाई निर्देशन दिइन ।
विद्यालय बाहिर बालबालिका हुनु भनेको अति नै गम्भीर विषय भएको बताउँदै उनले रहेका बालबालिकालाई विद्यालयमा फर्काउन नगरपालिकाले काम गर्ने बताइन ।