जयगढ बजार आगलागी : राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम प्रस्थान

कैलाली । अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीपछि सुदूरपश्चिम प्रदेश सरकारले राहत तथा उद्दार कार्यमा सक्रिय भूमिका निर्वाह गरेको छ ।
आगलागीबाट भएको प्रारम्भिक क्षतिको मूल्याङ्कनका आधारमा प्रदेश विपद् व्यवस्थापन कोषबाट तत्कालका लागि ५० लाख रुपैयाँ राहत स्वरूप बान्नीगढी जयगढ गाउँपालिकालाई उपलब्ध गराउने निर्णय गरिएको हो ।
यस निर्णयसँगै आगलागीबाट प्रभावित परिवारहरुलाई राहत पुर्याउने, क्षतिको विस्तृत मूल्याङ्कन गर्ने र दीर्घकालीन पुनःस्थापनाका लागि आवश्यक योजना निर्माण गर्न प्रदेश सरकारले तयारी थालेको छ।
सामाजिक विकासमन्त्री मेघराज खड्का स्वयं आज अछामतर्फ प्रस्थान गरिसकेका छन् । मन्त्री खड्का घटनास्थलमै पुगेर स्थानीय जनप्रतिनिधि, प्रशासन तथा सुरक्षाकर्मीहरूसँग समन्वय गर्दै राहत तथा उद्दार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले अछाम गएका हुन्।
“यो दुःखद घडीमा सबै राजनीतिक दल, समाजसेवी, युवा, स्वयंसेवक र सँगसँगै आम जनतालाई विपद् व्यवस्थापनमा हातेमालो गर्न हार्दिक अनुरोध गर्दछु,” मन्त्री खड्काको सचिवालयले उल्लेख गरेको छ ।
आगलागीबाट दर्जनौँ घर र पसलमा क्षति पुगेको प्रारम्भिक विवरण आएको छ। विस्तृत विवरण संकलन कार्य जारी छ भने पीडितको तत्काल आवश्यकता सम्बोधन गर्न स्थानीय सरकार र प्रदेश सरकारबीच समन्वय तीव्र पारिएको छ ।