कर्मचारीमा कम्तिमा दुई वर्षको कुलिङ समय राख्न प्रस्ताव

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् । यसले पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्ने उनले बताएका हुन् ।
संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ ।
विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रूपमा काम गर्न पनि नपाइने व्यवस्था छ ।
विधेयकमाथि संसदीय समितिमा छलफल हुँदा उच्च पदस्थ सरकारी कर्मचारीहरूलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कुलिङ पिरियडको पक्ष र विपक्षमा बहस भएको थियो । उच्चपदस्थ कर्मचारीहरू कुलिङ पिरियड राख्न नहुने पक्षमा छन् ।
तर काँग्रेस नेता कोइरालाले भनेका छन्, ‘कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ ।’